काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १७० जना संक्रमित थपिएका छन्। यो अहिलेसम्म कै धेरै संख्या हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या एक हजार २१२ पुगेको छ। ६ जनाको मृत्यु भइसकेको छ भने २०६ जना डिस्चार्ज भइसकेका छन्। आज मात्रै १९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। कोशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा झापाका २७ जनामा संक्रमण देखिएको छ।
त्यस्तै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका ४, झापाका एकजना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ४, पर्साका ५, पाटन अस्पताल प्रयोगशाला सर्लाही घर भएका एकजनामा संक्रमण देखिएको हो।
यसैगरी, गण्डकी प्रयोगशालामा गरिएको परीक्षणमा म्याग्दीका एक, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जना, भरतपुरमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ र नवलपरासी पूर्वका २, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका २३, रौतहटका ५६, सर्लाहीका ४ जना संक्रमित थपिएका मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए।
त्यस्तै, रूपन्देहीको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका १५ र रूपन्देहीका एक जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका ९ र दाङका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।