रुकुम । जिल्लाको चौरजहारी नगरपालिका–८ मा घटेको घटनामा बेपत्ता युवकको शव भेटिएको छ।
भेरी नगरपालिका–११ मटेलाका १७ वर्षीय गोविन्द शाहीको शव नगरपालिका–१२ खोदाखोला नजिकै नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी किशोर श्रेष्ठले बताए।
उनका अनुसार शव भेटिएको स्थलमा पुगेका एक प्रहरीले गोविन्दको शव आँखामा घाउचोट भएको, बायाँ हात भाँचिएको र अनुहारमा निलडाम भएको अवस्थामा भेटिएको छ ।
मुचुल्कास्थलमै रहेका भेरी नगरपालिका(४ का वडा सदस्य भद्रबहादुर शाही र सोती घटना संघर्ष समितिका संयोजक नगेन्द्र शाहले पनि हात भाँचिएको र अनुहार तथा शरीरमा चोट लागेको अवस्थामा शव भेटिएको बताए।
तर, डीएसपी श्रेष्ठले भने हात भाँचिएको पुष्टि गरेनन्। ‘मुचुल्का गर्न गएको टोली आइपुगेको छैन। अनुहार र शरीरमा चोटपटक देखिएको छ भन्छ हात त्यसविषयमा (हात भाँचिएको, आँखा फुटेको) केही जानकारी छैन।’
मुचुल्कास्थलमा रहेका अर्का एक प्रहरीले मुचुल्का गर्दा भाँचिएको भनेर किटान गर्न नमिल्ने बताए।
आफूहरूले चोटपटक र शरीरका कुनै अंग ९हातखुट्टा, घाँटी० लुलो देखेमा सोही अनुसार मुचुल्का प्रतिवेदन बनाउने उनले बताए। बाँकी पोष्टमार्टम रिपोर्टले बताउने उनको भनाइ छ।
घटनाको दश दिनपछि गोविन्दको शव भेटिएको हो। उक्त घटनामा परेका पाँच जना युवकको शव यसअघि नै भेटिइसकेको छ।
भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विक, १९ वर्षीय गणेश बुढामगर, २३ वर्षीय सञ्जु बिक, भेरी नगरपालिका(११ का १९ वर्षीय लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम सुनारको शव यसअघि भेटिएको थियो।
उनीहरूको पोष्टमार्टम भएर पनि दाहसंस्कार गरिसकिएको छ। पोष्टमार्टम रिपोर्ट भने आउन बाँकी छ।
आज भेटिएको गोविन्दको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, जाजरकोटमा लगिनेछ।
१० जेठमा रुकुम पश्चिमको सोतीमा भएको घटनामा गाउँलेको लखेटाइबाट उनीहरू भेरीमा परेका थिए। विभिन्न छानबिन समिति र स्थलगत अध्ययनमा पुगेका अधिकारीकर्मी तथा पीडित परिवारले उनीहरूलाई हत्या र कुटपिट गरी नदीमा फालिएको बताएका छन्।
यद्यपी, सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन भने आइसकेको छैन। घटनाको स्थलगत अध्ययनका लागि पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले पनि आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छैन।