शिक्षा स्वास्थ्य यातायातले, पिछडिएको कर्णाली
गरिब गाउँलेका ति झुपडिमा, खाने छैनन् थाली
बाठा टाठा नेता अनी, कर्णालीका नाईकेहरु
स्व–स्वार्थको भूमरीमा, बन्न थाले जाली ।
रोग भोकको पहिचान बन्यो, अँझै कर्णाली
सललल् आफ्नै बेगमा, बगिर्यो खाली
भ्रम नहोस लोकतन्त्रका, शासक अनी मालिकलाई
कर्म गरे सुन फल्ने, समृद्धीको थाली ।
घोडा, भेडा चौँरी झुल्ने पाटनमा माली
बहुमूल्य जडिबुटी, सबै फल्छन बाली
हरियाली बनपाखा, भाका हाल्छन, कोईली, डाँफे
नदिनाला, झरना झर्छन, स्रोत खेर फाली ।
नाम मात्रका स्वास्थ्य चौकी, तर छैन दवाई
गुन्यु चोलो, दौरा सुरुवाल स्थानीय लवाई
घर बाहिर निस्कदानी गोरेटोलाई नाप्नु पर्ने
नेपाल जोडने निर्विकल्प, महंगो छ हवाई ।
जनैपुर्णि दशैँ तिहार पुज्छन, देवि देवता
रोग र भोकमा लोकका तत्थ्य बुज्छन याताउता
रोग लागे पशुवली, दिई निको पार्ने
देवता बाहेक केही नि छैन, विकल्पमा एउटा ।
ताँजाकोट–५ मदना हुम्ला