सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका १ मा भएको सडक दुर्घटनाका घाइतेको हेलिकोप्टरबाट उद्धार गरिने बताएका छन् ।
दुर्घटनामा भएका घाइतेको उपचारमा प्रदेश सरकारको तर्फबाट उचित व्यवस्था मिलाइने प्रतिवद्धता व्यक्त गर्दै मुख्यमन्त्री शाहीले शोक वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री शाहीले दुर्घटनामा निधन भएका सबै जागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् । मुख्यमन्त्री शाहीको तर्फबाट शोक वक्तव्य जारी गर्दै प्रस सल्लहकार धुर्वविक्रम बुढाथोकीले अकल्पनीय र पिडादायी दुर्घटनामा घाईतेहरुको उपचारको लागि हेलीकोप्टर मार्फत उद्धार गर्न र वेपत्ताहरुको खोजीकार्यको लागि माननीय मुख्यमन्त्रीज्यूवाट आवश्यक व्यवस्था मिलाउनुको साथै सम्वन्धित निकायलाई निर्देशन भईसकेको छ जानकारी दिए ।
शोक वक्तव्यको पूर्ण पाठ
कोभिड–१९ को महामारीकै क्रममा वाँकेमा भएको दुर्घटनाको पिडा सकिन नपाउदै आज विहान कालिकोट जिल्ला सान्नीत्रिवेणी गाउँपालिका वडा नं. १ मा भएको सडक दुर्घटनाप्रति कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री महेन्द्रवहादुर शाहीज्यूले गहिरो दुख व्यक्त गर्नुभएको छ । कोभिड–१९ले निम्त्याएको समस्याका कारण विभिन्न ठाउँबाट घर फर्किने क्रममा लालीघाटबाट रास्कोट जाँदै गरेको ३९ जना सवार टिप्पर दुर्घटना हुँदा अहिलेसम्म २ जनाको दुखद निधन भएको, ६ जना वेपत्ता रहेको, ४ जना गम्भीर घाईते रहेको र २७ जना सकुशल सम्पर्कमा आएको जानकारी प्राप्त भएको छ ।
आफ्नो निर्वाचन क्षेत्रमा भएको उक्त दुर्घटनावाट भएको मानवीय क्षतिप्रति माननीय मुख्यमन्त्रीज्यू निकै स्तव्ध हुनुहुन्छ । माननीय मुख्यमन्त्रीज्यूले उक्त दुर्घटनामा निधन हुनुभएका सवैप्रति भावपुर्ण श्रद्धाञ्जली एवं शोकमा रहनुभएका परिवारजनप्रति धैर्य गर्न आग्रह गर्दै गहिरो समवेदना व्यक्त गर्नुभएको छ । दुर्घटनाका कारण सम्वन्धित घरपरिवारमा पर्नगएको पिडाप्रति माननीय मुख्यमन्त्रीज्यूले सहानुभुति प्रकट गर्नुको साथै दुर्घटनामा परि घाईते हुनुभएका सवैको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
अकल्पनीय र पिडादायी दुर्घटनामा घाईतेहरुको उपचारको लागि हेलीकोप्टर मार्फत उद्धार गर्न र वेपत्ताहरुको खोजीकार्यको लागि माननीय मुख्यमन्त्रीज्यूवाट आवश्यक व्यवस्था मिलाउनुको साथै सम्वन्धित निकायलाई निर्देशन भईसकेको छ । माननीय मुख्यमन्त्रीज्यूले घाईतेहरुको प्रभावकारी उपचार व्यवस्था मिलाईने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
दुर्घटनाको खवर पाउने वित्तिकै उद्धार तथा प्रारम्भिक उपचारमा खटने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि एवं सुचना संप्रेशन गर्ने संचारकर्मीहरुलाई माननीय मुख्यमन्त्रीज्यूले धन्यवाद दिनुभएको छ ।
२०७७ जेठ २८ गते
आज्ञाले,
......................
ध्रुबबिक्रम बुढाथोकी
माननीय मुख्यमन्त्रीज्युको प्रेस सल्लाहकार
कर्णाली प्रदेश