पर्सा । वीरगन्जमा बेवारिसे अवस्थामा मृत भेटिएका एक युवक सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यहि जेष्ठ २८ गते वीरगन्जको घण्टाघर छेउको विपी उद्यान परिसरमा मृत अवस्थामा भेटिएका अन्दाजी २५ वर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो।
उनको पहिचान भने खुल्न सकेको छैन। प्रहरीले बेवारिसे अवस्थामा भेटिएको उनको शव नारायणी अस्पतालमा पोष्टमार्टमका लागि पठाएको थियो।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको मृतकको स्वावको पिसिआर परीक्षणमा ती पुरुषको रिपोर्ट शुक्रबार राति पोजिटिभ आएको अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले जानकारी दिए।
शवको पोष्टमार्टम रिपोर्ट नआइ सकेकाले ती पुरुषको मृत्युको कारण यकिन हुन नसकेको डाक्टर सिंहले बताए । त्ययसैगरि निमोनियाले ग्रस्त ५ वर्षीय बालकको वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रवार मृत्यु भएको छ ।
बाराको निजगढका ५ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु पश्चात उनको आरडिटी परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ।
निजगढबाट ल्याइएका ती बालकलाई शुक्रबार विहान ११ बजे अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उनको स्वाब पीसीआर परीक्षणका लागि पठाइएको अस्पतालका सञ्चालक डा।अबुल हैस अन्सारीले बताए ।
त्यसैगरि भारतबाट आएका ५ जनामा समेत कोरोना सक्रमणको पुष्टि भएको छ । वीरगन्जको कन्टी इन होटलको क्वारेन्टाइनमा बसेका २ जना र सखुवा प्रसौनी गाँउपालिकाको क्वारेन्टाइनमा बसेका ३ जनामा पनि शुक्रबार राति संक्रमण पुष्टि भएको हो।
कन्टी इन होटलको क्वारेन्टीनमा १२ दिनदेखि बसेका वीरगन्ज ५ कुम्हाल टोलका ३४ वर्षीय महिला र १९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।
उनीहरु दुवै जना एकै परिवारका सदस्य हुन्। त्यसैगरी सखुवा प्रसौनी गाउपालिकाका ३ बर्षीय बालक, १५ बर्षीय किशोर र ३० बर्षीय महिलामा कोरोना सक्रमणको पुष्टि भएको छ।