सुर्खेत । आफूले प्रदेशसभामा दर्ता गरेको सार्वजनिक महत्वको प्रस्ताव अघि नबढाएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुक्रवार (आज) कर्णाली प्रदेशको बैठक अवरुद्ध गरेको छ ।
कोरोना नियन्त्रण सम्बन्धि सार्वजनिक महत्वको प्रस्ताव छलफल अघि नबढाइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभाको सोह्रौ बैठक अबरुद्ध गरेको हो ।
नेपाली कांग्रेसले संसदीय दलले असार ४ गते संसदमा छलफलका लागि कोरोना नियन्त्रण सम्बन्धि सार्वजनिक महत्वको प्रस्ताव प्रदेशसभामा दर्ता गरेको थियो ।
प्रस्ताव छलफललाई प्रदेशसभामा प्रवेश नदिएपछि नेपाली कांग्रेसले त्यसको बिरोध गर्दै प्रदेशसभाको बैठक अबरुद्ध पारेको छ ।
कांग्रेसले संसदमा दर्ता गरेको सो प्रस्ताव सभामुख राजबहादुर शाहीले कार्यव्यवस्था समितिको बहुमत सदस्यको सुझावको आधारमा अस्वीकृत गरेका थिए । यस्तै प्रदेशसभाका पदाधिकारी तथा समितिका अध्यक्षलगायतले चढ्दै आएको गाडी सुविधा हटाउन गरेको अर्को सार्वजनिक महत्वको प्रस्तावपनि अघि नबढाएको कांग्रेसको आरोप छ ।
कर्णाली प्रदेशसभामा सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता नभएपछि संसद अबरुद्ध भएको कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए । ‘हामी प्रदेशसभामा हामीले १७ बुँदे सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थियौं ।’ उनले भने,‘यो सार्वजनिक महत्वको प्रस्ताव अस्वीकृत भएका कारणले संसद चल्न सक्दैन् ।’
सभामुख राजबहादुर शाहीले प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा छलफल ल्याउन नचाहेको नभएर केही बुँदा पुर्नलेखनको आवश्यकता रहेको संसदलाई जानकारी गराएका थिए । तर, प्रतिपक्षी दलका संसदीय दलका नेता शाहीले यसभन्दा अघि पनि सबैखाले फजुल खर्च र प्रदेशसभाका पदाधिकारी तथा सदस्यले लिँदै आएको सवारी सुविधा फिर्ता गर्नेसम्बन्धी संसद सचिवालयमा दर्ता गरेको संकल्प प्रस्ताव अस्वीकृत गरेको र अहिले पनि सार्वजनिक महत्व प्रस्ताव अस्वीकृत भएका कारणले संसद चल्न नदिने सभामुखलाई जानकारी गराएका थिए । कांग्रेसका प्रमुख सचेतक हिमबहादुर शाहीले संकल्प प्रस्ताव पुर्नलेखन भन्ने प्रावधान कहीपनि प्रदेशसभाको नियमावलीमा नभएको बताए । उनले कोरोनाका कारण जनता थिलोथिलो परेको बेला सार्वजनिक महत्वको प्रस्ताव ल्याउनु अपराध होरु भनेर प्रश्न गरे ।
सभामुख शाहीको पटकपटको आग्रहपछि पनि प्रतिपक्ष कांग्रेसले सदन अवजरुद्ध गरेपछि कर्णाली प्रदेशसभाको बैठक भोली (शनिबार) दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।