काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण अजपक्षित रुपमा बढ्न थालेपछि सरकारले आवतजावतमा थप कडाइ गर्ने निर्णय गरेको छ ।
पछिल्लो समय लकडाउन (बन्दाबन्दी) खुकुलो भएसँगै मानिसहरूको चहलपहल धेरै बढेपछि सरकारले थप कडाइ गर्ने निर्णय गरेको हो । सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न समेत रोक लगाएको छ । कोरोना सङ्क्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन अर्थात् बन्दाबन्दी खुकुलो बनाएको सरकारले थप व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७ जारी गर्दै पैदल र सवारीबाट राति हुने आवतजावतमा रोक लगाएको हो । मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ ।
अत्यावश्यक काम बाहेक कोही पनि व्यक्ति रातको समयमा हिँडडुल नगर्न पनि सरकारले भनेको छ । सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखबाहेक ७३ जिल्लामा निजी सवारीसाधनमा जोरविजोर प्रणाली कायम गरिएको गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । अधिकारीका अनुसा मापदण्ड उल्लंघन गर्नेमाथि अत्यावश्यक सेवा ऐन २०१४, संक्रामक रोक रोकथाम तथा नियन्त्रण ऐन २०२०, मुलुकी अपराध संहिता २०७४, स्थानीय प्रशासन ऐन २०२८ र सरकारले जारी गरेका अन्य प्रचलित कानुन बमोजिम कारबाही गर्न समेत निर्देशन दिइएको छ ।
विवाह, व्रतबन्ध, मृत्यु सँस्कार लगायत सामाजिक तथा साँस्कृतिक कार्य र गतिविधिमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने, कार्यस्थल, सार्वजनिक स्थल तथा अन्य काममा बाहिर निस्कँदा कम्तीमा २ मिटरको दुरी कायम गर्न र नियम पालना गरेर÷नगरेको अनुगमन गर्न पनि सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ ।
मन्त्रालयका अनुसार उद्योग, कलकारखाना लगायत कार्यस्थलमा एक स्थानमा एकपटकमा १० जनाभन्दा बढी भेला हुन पाइने छैन ।