एजेन्सी । भारत चीन सीमा क्षेत्र गलवानमा जुन १५ मा भएको हिंसात्मक झडपपछि भारतले आफ्नो सेनालाई हतियार प्रयोगमा स्वविवेकको अधिकार दिएपछि चीनले त्यसको प्रतिवाद गर्दै कडा चेतावनी दिएाके छ । चीनको मुख पत्र मानिने ग्लोबलटाइम्सले सम्पादकीयमार्फत भारतको उक्त कदमले भारतलाई नै नोक्सानी हुने चेतावनी चीनले दिएको छ ।
भारतले विगतमा चीनसँग भएका दुईवटा सहमतिलाई तोडेको चीनको बुझाइ छ, 'चीन र भारतले सन् १९९६ र सन् २००५ मा आफ्नो सैन्य क्षमता एकअर्काविरुद्ध प्रयोग नगर्ने भनेर सम्झौता गरेका थिए । त्यसको पालना गर्दै जुन १५ को हिंसात्मक झडपमा पनि गरिएको थियो । जहाँ हतियारको प्रयोग भएन तर भारतीय सेनाका एक उच्च अधिकारीसहित २० जवानले ज्यान गुमाए ।'
चीनले आफ्नो सेना सबै प्रकारका चुनौतीको सामना गर्न सक्षम रहेको जनाएको छ । ग्लोबल टाइम्समा लेखिएको छ, 'भारतीय पक्षबाट गोली हानेमा त्यसको मूल्य ठूलो चुकाउनुपर्छ । अग्रभागमा खटिएका भारतीय सेनाको मस्तिष्कमा एउटा कुरा राख्नुपर्ने हुन्छ, त्यो भनेको पिएलएविरुद्ध हतियार प्रयोग भएमा पिएलएले नामेट पार्नेछ ।'
भारतमा उग्रराष्ट्रवाद हावी भएको भन्दै सम्पादकीयमा लेखिएको छ, 'हाम्रो जनमुक्ति सेनाले अत्यन्तै खराब वातावरणका विषयमा पनि सोच्नुपर्छ । भारतीय सेनाले सीमा युद्ध सुरु गरेमा त्यसलाई राम्रो सबक सिकाउनु पर्छ । हाम्रो पिएल यस्तो गर्ने पर्याप्त क्षमतामा छ । भारत दुई देशबीचका सम्झौताबाट पछि हटेको छ । सम्भावित वातावरणको जिम्मेवारी पनि भारत नै हुनेछ ।'
चीनले चेतावनी दिँदै भनेको छ, 'हामी भारतका अन्धराष्ट्रवादीलाई चेतावनी दिन चाहान्छौँ कि नयाँ दिल्लीलाई गलत बाटोमा नलैजाऊ । भारतले पछिल्लो गल्तीलाई फेरि दोहोर्याउन भएन । भारतले स्मरण गर्नुपर्छ सन् १९६२ लाई । त्यो बेलामा दुवै देश लगभग बराबर क्षमतामा थिए । अहिले चीनको जिडिपी भारतको भन्दा पाँच गुणा धेरै छ । चीनको रक्षा खर्च पश्चिमी अनुमान अनुसार भारतको भन्दा तीन गुणा धेरै छ । चीन औद्योगिक देश हो भने भारत औद्योगिकीकरणको प्राथमिकतामा मात्र छ । चीनसँग आफ्नै उन्नत हतियार छ । भारतले सबै उन्नत हतियार आयात गर्छ ।'