सुर्खेत । कोरोना भाइरस (कोभिड १९) का कारण कर्णाली प्रदेशमा ज्यान जानेको संख्या ५ पुगेको छ । आज कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणले प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दैलेखको दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरूषको हिजो (सोमबार) राति साढे ९ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
लामो समयदेखि क्षयरोगका बिरामी भएका उनी गएको असार ३ गते प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। कोरोना परीक्षण गर्दा ४ गते उनमा संक्रमण पुष्टि भएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए।
‘असार ३ गते यहाँ भर्ना हुनुभएको थियो, ४ गते टेष्ट गर्दा पोजेटिभ देखिएको हो,’ पौडेलले भने, ‘पोजेटिभ देखिएपछि कोरोना विशेष अस्पतालमा सिफ्ट गरेका थियौं, सोमबार मृत्यु भएको हो।’ डाक्टर पौडेलले नेपालबोटसँग भने, 'मृत्यु भएका उनको सुर्खेतमै नेपाली सेनाको टोलीबाट अन्त्येष्टि गर्ने तयारी भएको छ।'
मृतकका श्रीमती उनीसँगै अस्पताल आएपनि उनलाई भने कोरोना नेगेटिभ देखिएको डाक्टर पौडेलले बताए। मृतककी श्रीमतीको स्वाब संकलन गरेर तीन पटक पिसीआर गर्दा पनि रिपोर्ट नेगेटिभ आएको बताए ।
करर्णाली प्रदेशमा कोरोना संक्रमणबाट सुर्खेतका २ जना, दैलेखका २ जना र डोल्पाका १ जना गरि ५ जनाको मृत्यु भएको छ भने नेपालभर मृत्यु हुनेको संख्या २४ पुगेको छ।