सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १३६१ पुगेको छ ।
(आज) बुधबार अपरान्ह ३ बजेसम्म २८ जना नयाँ व्यक्तिमा कोरोना संक्रमित थपिएपछि कूल संख्या १३६१ पुगेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ ।
कर्णाली प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षण रिर्पोटमा थप २८ जना नयाँ संक्रमित फेला परेका हुन् ।
प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत गरिएको परीक्षणमा सुर्खेत जिल्लाका १३ जना, दैलेख जिल्लाका ३ जना, जाजरकोट, कालिकोट, दाङ्ग र धनुषा जिल्लाका १र१ जना गरि २० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्ला ४ जना, रुपन्देही, सप्तरी, ताप्लेजुङ जिल्ला १।१ जना गरि ८ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तरगतको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।
डा. तिवारीका अनुसार सुर्खेतको लेकबेसी नगरपालिका आईसोलेसनबाट १ जना, सुर्खेतको चौकुने गाउँपालिकाको आइसोलेसनबाट १ जना, मुगु कोडडाँडा आइसोलेसनबाट १ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान १ जना र दैलेखको भगवतीमाई गाउँपालिकाको आइसोलेसनबाट ४ जनाले कोरोना संक्रमण जितेका छन् । यो सँगै कर्णालीमा कोरोना जित्नेको संख्या ५६८ पुगेको छ ।
संक्रमित हुनेमा १० स्वास्थ्यकर्मी
कोरोनासँगको लडाइको अग्रमोर्चामा रहने कर्णालीका १० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तरगत स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णाली प्रदेश अस्पतालमा ५, जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ र रुकुम चौरजहारीमा १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।
कोरोना महामारीको बेला स्वास्थ्यकर्मीहरु अग्रमोर्चामा भएका कारणले स्वास्थ्यकर्मीहरुमा जोखिम बढी हुने गरेको छ ।
स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमणको जोखिम बढी रहेको स्वास्थ्यकर्मीहरुले सुरक्षा सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण हुने गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक डा. मंगल रावलले बताए । ‘स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको जोखिम बढी नै हुन्छ ।’ उनले भने, ‘स्वास्थ्यकर्मीहरु प्रायः बिरामीको नजिक हुने भएकाले कोरोना संक्रमणको जोखिम बढेको हो ।’