काठमाडौं । सत्तरुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकका बारेमा सबैले निकै चासोका साथ हेरिरहेका छन् ।
स्थानीय तहदेखि प्रदेश हुँदै संघीय सरकारमा झण्डै दुई तिहईको बहुमत प्राप्त पार्टीको स्थायी समितिको बैठकमा कुन नेताले कस्ता प्रास्ताव गरेर त्यसमा कस्ले के भने भन्ने बारेमा सबैको कौतुहताकै विषय छ ।
बैठकको प्रारम्भमै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मन्तव्यमा आफूले पार्टी एकता र सरकारलाई सफल पार्नका लागि गरेका सम्झौताको विस्तार लगाएका थिए । बैठकमा प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई लक्षितगर्दै पार्टी एकताप्रति जिम्मेवार हुन नसकेको आरोप लगाए । प्रचण्डले भने, 'पार्टी एकता गर्दा हामीले के सम्झौता गरेका थियौँ र अहिले कहाँ छौँ । सुरुमा एकजना अध्यक्ष एकजना प्रधानमन्त्री भन्ने कुरा थियो । लिखित नै गरेर फेरि आधा-आधा कार्यकाल सरकारको नेतृत्व भन्ने भयो । त्यसपछि एउटाले पार्टी र अर्काले सरकार भन्ने भयो । मैले यी सबै छाडेको छु । अब को जिम्मेवार बन्नुपर्ने ?'
पार्टी एकता गर्दाको सहमतिबाट आफू लचिलो हुँदा ओलीमा अहंकार बढेको प्रचण्डले सुनाए । उनले भने, 'सम्झौता कार्यान्वयन गर्न मैले अडान नलिनु गल्ती भयो । पार्टी एकता बलियो बनाउन मैले सम्झौतामा लचिलो बन्दा त्यसले पार्टीलाई लाभ दिए । अर्का अध्यक्षमा अहंकार बढ्यो । मैले सहमतिलाई छाडेर गल्ती गरेको रिइलाइज गर्छु । सबैले गल्ती स्वीकार गरेर आगामी बाटोमा जानुपर्छ ।'
आगामी विकल्पका विषयमा गम्भीर हुँदै प्रचण्डले दुईवटा विकल्प प्रस्तुत गरे । उनले भने, 'हामीसँग अब दुईवटा विकल्प छ । एउटा संघर्ष गर्दै जाने र पार्टी फुटमा जाने । त्यो विकल्प सोच्न पनि हुँदैन । अर्को विकल्प एकतावद्ध भएर जानुपर्छ । एकतावद्ध त्यागले मात्र सम्भव छ अहंकारले छैन । पार्टी अध्यक्ष र प्रधानमन्त्रीजी पनि त्यागका लागि तयार हुनुपर्छ । हामी सबैले त्याग गरेमात्र एकता सम्भव छ । त्यसका लागि सबैले जोड दिनु आवश्यक छ ।'
नेपालबोटलाई प्राप्त जानकारी अनुसार लामो समयपछि बसेको स्थायी कमिटिको बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले अख्तियारलाई अर्को सत्ता बनाउनेगरी विधायन समितिले प्रतिवेदन पेश गरेकोमा आपत्ति जनाएर विरोध गरेलगत्तै बैठकले तत्कालका लागि विधेयक अगाडि नबढाउने निर्णय गरेको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।
श्रेष्ठले नै संघीय संसद र प्रदेश सभा सदस्यले बुझ्दै आएको बैठक भत्ता नलिने प्रस्ताव गरेका थिए । भत्ता नलिने विषय पनि एजेण्डामा परेको छ । सरकारले कर्मचारीको भत्ता काटिएको र जनप्रतिनिधिको भत्ता राखिएको तर्क श्रेष्ठले गरेका थिए ।
बैठकमा सरकारको सबै कामको समिक्षा हुनुपर्नेमा वरिष्ठ नेता झलनाथ खनालले जोड दिएका थिए । सचिवालयकै अन्य नेताले पनि जोड दिएपछि अध्यक्षको तर्फबाट बैठकमा प्रस्तुत भएको पाँच बुँदे प्रस्ताव परिवर्तन भएर ७ बुँदे प्रस्ताव तयार भएको छ । खनालले सबैकुराको समिक्षा जोड दिँदै सरकारको काममा प्रश्न उठेकाले छलफलको विषय बन्नुपर्नेमा जोड दिएका थिए ।
ओलीको प्रतिवादमा नेपाल उत्रिएपछि
सरकारको बचाउ गर्दा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट जनताको भावना अनुसार काम भएको बताएका छन् । पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै उनले सरकारले राम्रो काम गरेको भन्दै सरकारको बचाउ गरे ।
एक स्थायी समिति सदस्यका अनुसार बैठकमा ओलीले भने, 'सरकारले राम्रो काम गरेको छ । जनताले यसको मूल्याङ्कन गर्छन् । जनताले प्रशंसा गरेको समयमा पार्टीभित्रैबाट कामै गरेन भनेर भ्रम फैँलाउने काम भयो । सरकारका कारण पार्टी स्थापित भएको छ । कोरोना नियन्त्रणमा पनि सरकारले प्रभावकारी भूमिका खेलेकाले जनता आशावादी भएका छन् ।'
ओलीले सरकारले गरेका कामको लामो वर्णन गर्न थालेपछि वरिष्ठ नेता माधव कुमार नेपालले ओली बोल्दै गर्दा प्रतिवाद गरे । उनले भने, 'जनतामा गएर सोध्नुस् । गुणगान सुन्दा सुन्दा कानै दुखिसक्यो । काम नगर्ने वर्णनमात्र गर्ने रुु नेपालले प्रतिवादन गरेपछि स्थायी कमिटी सदस्यहरु हास्न थालेका थिए ।'
नेपालतर्फ हेर्दै त्यसपछि फेरि ओलीले आफ्नो मन्तव्यलाई अगाडि बढाए । उनले भने, 'पार्टी एकता गर्दा भएको सहमतिमा बहुमत र अल्पमत भन्ने थिएन । पार्टीमा बहुमतको खेति गर्नेहरुले के गरे रु पार्टी फुटको संघारमा पुगेको थियो । नेतृत्वलाई खुइलाएर भ्रममा नपरौँ ।'
ओलीले पार्टी र सरकार सामु ठूलो चुनौती भएकाले अब त्यसको सामना गरेर जानका लागि सबै एकजुट हुनुपर्ने बताए । उनले भने, 'पार्टी र सरकारसामु ठूलठूला चुनौतीहरु छन् । त्यसको सामना गरेर जानका लागि एकजुट हुनुपर्छ । केही कमीकमजोरी भएमा स्वीकार्छु । फेरि पनि सबै गम्भीर भएर अगाडि बढ्नुपर्छ ।'