रुकुम । ६ जनाको ज्यान जाने गरी भएको रुकुम पश्चिमको सोती घटनामा जिल्ला अदालतले मुद्दा पूर्पक्षका लागि चौरजाहारी वडा नम्बर–८ का वडाध्यक्ष डम्बर बहादुर मल्लसहित २३ जनालाई थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला अदालत, रुकुमका न्यायाधीश विद्याराज पौडेलको इजलासले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको सरकारी वकिल कार्यालयका प्रमुख विनोद पौडेलले जानकारी दिए ।
छ दिनको बहसपछि अदालतले बुधबार साँझ प्रतिवादीमध्ये तीन जनालाई साधारण तारेख र एक जनालाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । घटनाका प्रमुख पात्र मानिएका मृतक नवराज विककी प्रेमिका भनिएकी युवतीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ। प्रेमिका भनिएकी युवतीसहित दुई जनालाई यसअघि बाल सुधार गृह पठाइएको थियो।
शुक्रबारदेखि सुरु भएको बहसमा पीडितको तर्फबाट २५ जना र प्रतिवादीको तर्फबाट ७ जनाले बहस गरेका थिए । थुनछेक बहस शुक्रबारदेखि सुरु भएको थियो। सोमबारसम्म पिडितका कानुन व्यवशायीले बहस गरेका थिए। अदालतसँग पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने र साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश दिन विकल्प थियो।
जिल्ला सरकारी वकिल कार्यालयले ३४ जनाविरुद्ध कर्तव्य ज्यानलगायत मुद्धामा अभियोग पत्र दर्ता गरेको थियो। प्रतिवादीमध्ये २९ जना पक्राउ परेका थिए भने पाँच जना फरार रहेको सरकारी वकिल कार्यालयका प्रमुख विनोद पौडेललेजानकारी दिए ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका(८ सोतीमा उपल्लो जातकी प्रेमिका लिन जेठ १० गते गाउँका १९ युवा लिएर पुगेका नवराज विकलाई गाँउलेले लखेटेका थिए। नवराजसहित ६ जनाको शव भेरी नदिमा भेटिएको थियो। सोतीका गाउँलेले कुटेर भेरी नदीमा फ्याँकेको प्रहरी अनुसन्धान प्रतिबेदनमा उल्लेख छ। २० जनाविरुद्ध किटानी जाहेरी परेको भएपनि अनुसन्धानमा थप १४ जनाको पनि संलग्नता खुलेको प्रहरीको भनाई छ।
प्रहरीले नवराजकी प्रेमिका भनिएकी युवती, उसका बाआमा र दाई, वडाध्यक्षसहितलाई पक्राउ गरेको थियो। उनिहरु सबैलाई प्रतिवादी बनाएर अभियोग पत्र दर्ता भएको थियो।
वडाध्यक्ष डम्बर बहादुर मल्ल, प्रेमिका भनिएकी युवतीका दाई सन्तोष मल्ल, डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, विनोद भल्ल, लिपेन्द्रकुमार मल्ल, इन्द्रबहादुर ठकुरी, हर्कबहादुर मल्ल, तिलक चन्द, नेत्रबहादुर मल्ल र रेशमबहादुर मल्ललाई प्रतिवादी बनाइएको थियो।
यस्तै विष्णु मल्ल, तुलाराम घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, डिल्ली घर्ती, विराज पुनमगर, सबिन पुन, रमित पुनमगर, नविनकुमार जीएम, धनाराज राना, दीपेन्द्र चन्द, भीमबहादुर पुनलाई प्रतिवादी बनाइएको थियो। २ नाबालकसहित पाँच जनाको नाम भने गोप्य राखिएको छ। प्रतिवादीमध्ये २१ जनाविरुद्ध जन्मकैद सजाय माग गरिएको छ।
तीन जना प्रतिवादी तुलबहादुर मल्ल, दीपेन्द्र चन्द र इन्द्रबहादुर मल्ललाई भने साधारण तारेखमा छाड्न आदेश भएको छ । पीडितको तर्फबाट २५ जना वकिलले अदालतमा बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट ७ जनाले बहस गरेका थिए ।घटनामा संलग्न तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा भने अझै फरार छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले ३२ जेठमा वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवती, उनका आमा, बुबा, दाजुसहित ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको थियो ।
सबैलाई ६ जनाको हत्या गरेको आरोपमा कर्तव्य ज्यान, १३ जनालाई घाइते भएको कसूरमा ज्यान मार्ने उद्योग र जातीय छुवाछुत सम्बन्धी कसूर अनुसार आजीवन कैद गर्न माग गरिएको थियो । जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ की मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो ।
त्यसक्रममा नवराज विक, गणेश विक, सन्दिप बुढा, लोकेन्द्र सुनार, टिकाराम सुनार र गोविन्द शाहीको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय, रुकुमले गरेको अनुसन्धानमा भाग्दै गरेको नवराजको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको खुलेको थियो ।