काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दुई अध्यक्षको सम्वोधनसँगै आजका लागि सकिएको छ । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बैठकलाई सम्बोधन गरेका थिए ।
बिहान साढे ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठक ३ घण्टापछि सकिएको थियो ।
अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सरकारले गरेका काम र पार्टीसँगको समन्वयका विषयमा कुरा राख्ने काम भयो । अध्यक्ष प्रचण्डले पार्टी अनुसार सरकार चल्न नसकेको विषयमा टिप्पणी गरेका थिए ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले आज दुई अध्यक्षले सम्वोधन गरेपछि शुक्रबार अर्को बैठक बस्ने र सदस्यहरुले पनि विचार राख्ने गरि सकिएको जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री ओलीले सरकारले अहिलेको परिस्थितिमा सकारात्मक काम गरिरहेको तर कुनैकुरा गलत भए सच्याउन तयार रहेको बताए । उनले बाहिर आलोचना नगरि भित्र सच्याउनेगरि सुझाव दिन आग्रह गरिन ।
अध्यक्ष प्रचण्डले दुईपार्टी एक भएरपछि कयौ सम्झौता पालना नभएको, असझदारीलाई झन बढाउनेगरि टिप्पणी भएकाले समस्या भएको सुनाए ।
बैठकमा अध्यक्षद्वयको सम्वोधन, कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल, सीमा समस्या र समाधान, सरकारको कामको समिक्षा, पार्टी कामको समिक्षा र सांगठिनक एकताको पूर्णता, एमसीसी र विविधि गरि सातवटा एजेण्डा तय भएका छन् ।