नेपालगञ्ज । बाँकेमा थप ३५० जनामा कोरोनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म ६ हजार ७ सय ५ जनाको पिसिआर बिधिबाट कोरोना परीक्षण गर्दा ३५० जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा १ हजार ८ सय ३१ को परीक्षण गरिएकोमा ४० जनामा, कोहलपुर नगरपालिकामा ५ सय २ को परीक्षण गरिएकोमा ७ जनामा, खजुरा गाउँपालिकामा ६०४ को परीक्षण गरिएकोमा ३१ जनामा, जानकी गाउँपालिकामा २ सय ६८ जनामा ४२ जनामा, बैजनाथ गाउँपालिकामा २ सय ८४ को परीक्षण गरिएकोमा ३१ जनामा कोरोना संक्रमण पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यसैगरी, डुडुवामा १ सय ९४ मध्ये २७, नरैनापुरमा १ हजार १ सय ४७ मध्ये १ सय १९, राप्तिसोनारीमा १ हजार १ सय ३ मध्ये ५३ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार, भेरी अस्पतालबाट ४ सय ९२, नेपालगन्ज मेडिकल कलेजबाट १ सय ६९ र नेपाल आर्मी अस्पतालबाट १ सय ११ जनाको स्वाब संकलन गरि परीक्षण गरिएता पनि ती मध्ये कसैलाई पनि कोरोना पोजेटिभ देखिएको छैन ।
त्यसैगरी, हालसम्म जिल्लामा ८ हजार ९८ जनाको आरडिटी बिधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । त्यसमध्ये ३ सय ३३ जनामा पोजेटिभ देखिएको छ ।
जिल्लाका ८ वटा स्थानीय पालिकाले निर्माण गरेका १ सय १३ क्वारेन्टाइन र नेपाल आर्मीको १ गरी १ सय १४ क्वारेन्टाइनमा हाल १ सय ९३ महिला र ८ सय ८ पुरुष गरी जम्मा १ हजार १ जनाले सेवा लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।