एजेन्सी । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले हङकङका ३० लाख बासिन्दालाई ब्रिटेनमा बसोबास गर्न र नागरिकताका लागि आवदेनको अधिकार दिने बताएका छन्। चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागु गरेपछि ब्रिटेनले आफ्नो पुरानो उपनिवेशका बासिन्दालाई यस्तो प्रस्ताव गरेको हो ।
प्रधानमन्त्री जोनसनले नयाँ सुरक्षा कानुनले हङ्कङको स्वतन्त्रा उल्लङ्घन गरेको बताउँदै त्यसबाट प्रभावित हुने बासिन्दालाई त्यहाँबाट निस्किने बाटो खुला गरिदिने बताए।करिब तीन लाख ५० हजार ब्रिटिश राहदानी भएका र अन्य २६ लाख मानिस पाँच वर्षका निम्ति ब्रिटेन जान पाउने छन्।
त्यसको एक वर्षपश्चात् नागरिकताका लागि उनीहरूले आवेदन दिन पाउने छन्।
हङ्कङका ब्रिटिश राहदानी वाहकहरुलाई सन् १९८० को दशकमा विशेष हैसियत प्रदान गरिएको थियो। तर अहिले उनीहरूको त्यो अधिकारमा प्रतिबन्ध लगाइएको छ र प्रवेशाज्ञा नलिएरै ६ महिनाका निम्ति ब्रिटेन प्रवेश गर्न पाउने सुविधा पनि सीमित तुल्याइएको छ।
सरकारको नयाँ योजना अनुसार उनीहरू र उनीहरूमा निर्भर रहेका परिवारका सदस्यलाई पाँच वर्षका निम्ति ब्रिटेनमा बस्न, काम गर्न र पढ्न दिइने छ।
उनीहरूले त्यसका निम्ति अहिले आवेदन दिनु पर्नेछ र त्यसको एक वर्षपछि नागरिकताको निम्ति आवेदन दिन योग्य हुनेछन्।
ब्रिटिश विदेशमन्त्री डोमिनिक राबले पनि ब्रिटेनले आफ्नो पूर्वउपनिवेश हङ्गकङका जनताप्रतिको उत्तरदायित्व पन्छाउन नसक्ने बताएको बिबिसीले जनाएको छ ।