काठमाडौं । सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि लगाएको बन्दाबन्दीपछि काठमाडौं उपत्यकामा आजबाट साझा बसहरु सञ्चालनमा आउने भएको छ ।
सरकारी लगानीको साझा यातायातले आजबाट बस सेवा शुरु गर्ने भएको हो । साझाले २६ वटा बसमार्फत् काठमाडौँका अधिकांश रुटमा सेवा शुरु गर्न लागेको छ। पहिलो दिन सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गर्न लागिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेले बताए ।
बसका कर्मचारी र यात्रु दुवैले आवश्यक सुरक्षाप्रति सर्तक हुने गरी बस सञ्चालन गर्न लागिएको छ । उनका अनुसार यात्रुले साझाका बसमा चढ्दा माक्स लगाउने, सेनेटाइजरको प्रयोग गर्ने र सामाजिक दुूरी कायम गर्नेसँगै खुद्रा पैसा बोकर मात्रै बसमा यात्रा गर्नुपर्छ । उनले भने, “बसका कर्मचारीले पनि माक्स, पञ्जा र सेनेटाइजरको व्यवस्था गरिएको छ ।”
पहिलेकै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा शुरु गर्न लागिएको साझाले जनाएको छ । पहिले थोरै बसबाट शुरु गरिएमा आवश्यकतानुसार थप गर्दै जाने व्यवस्थापक पाण्डेले बताउनुभयो । सरकारले तोकेअनुसार नै भाडा लिइनेछ ।
मन्त्रिपरिषद्को बैठकले सार्वजनिक यातायात सञ्चालनको निर्णय गरेपछि पनि यातायातले बसको मर्मतलगायतका तयारीका काम गरिरहेको थियो । यातायात व्यवस्था विभागले औपचारिक रुपमा पत्र नदिएकाले सेवा शुरु गर्न नसकेकामा पत्र प्राप्त भएसँगै शुरु गरिएको हो । उनले भने, “आगामी दिनमा आवश्यकतानुसार सेवा विस्तार हुनेछ ।”
विसं २०१९ सालबाट बस सेवा शुरु गरेको संस्थाले विगतमा सबैभन्दा लोकप्रिय सवारी साधन मानिन्थ्यो । विभिन्न समस्याका कारण विसं २०६४ मा अवरुद्ध सेवा विसं २०७० मा पुनः स्थापित भएको हो ।
काठमाडौँ उपत्यकामा १० रुट रहेकोमा साझाको उपत्यका बाहिर पनि सेवा विस्तार गरेको छ । संस्थाले काठमाडौँ उपत्यकामा अपाङ्तामैत्री सेमी लो फ्लोर बस सञ्चालनमा ल्याएको छ ।