बालकुमार शर्मा
जाजरकोट । लामो वर्षासँगै गएको परिहोबाट पिडित भएका जिल्लाको बारेकोट गाउँपालिकामा बाढी र पहिरोबाट विस्थापित बनेकाहरुले आफूलाई त्काल गाँसको समस्या भएको गुनासो गरेका छन् ।
आफूले अहिले खाद्यान्न अभाव झेलिरहेको बताएका उनीहरुले सरकारले आफूहरुलाई हवाला दिदैं हेलिकप्टर ल्याएर आश देखाएपनि गाँस नल्याएको बताएका छन् ।
न काम गरेर खाने ठाँउ छ, न त कसैले सहयोग गरेको छ । कमाउनलाई कुनै अवसर नभएपछि त्रिपालमुनीको बासमा भोकै बस्नुको विकल्प छैन ।
बाढी र पहिरोको खबर आउने बित्तिकै हेलिकप्टर एक सय थान कम्बल र १५ थान त्रिपाल खसालेर एक जना घाईतेलाई लिएर नेपालगञ्ज फर्कियो ।
पहिरो प्रभावित वीर नेपालीलाई, हेलिकप्टर आउँदा राहत आयो कि भन्ने आशा जाग्छ । तर आकाशबाटै पहिरोलाई फन्को मार्दै केही थान त्रिपान र कम्बल मात्रै हेलिकप्टर फर्किँदा, उहाँको मन धेरै पटक अमिलो भएको छ । पेट भोको, मन अमिलो प्राय पहिरो प्रभावितको दुखेसो यस्तै छ ।
दैलोको स्थानीय सरकारले पनि आफुहरुको दुख नदेखेको पहिरो प्रभावित गुनासो गर्छन् । टाढाको प्रदेश र संघ सरकारको त झन् के आशा गर्नु रु केही संघ संस्थाले सहयोग नगरेका होईनन् तर विस्थापितको सङ्ख्या धेरै भएकाले त्यो राहत सामग्री पर्याप्त भएन । अहिले प्राय विस्थापितहरु एक छाक खाएर गुजारा चलाईरहेका छन् ।
हेलिकप्टर आयो त्रिपाल र कम्बल झारेर फर्कियो
शुक्रबार नै, बारेकोटमा राहत लिएर हेलिकप्टर आउँदैछ भन्ने सन्देश विस्थापित परिवार सम्म पुगिसकेको थियो । उनीहरु दिन भर हेलिकप्टरकै प्रतिक्षामा बसे । तर खराब मौसमका कारण शुक्रबार आउन नसकेको नेपाली सेनाको हेलिकप्टर शनिबार दिउँसो बारेकोटमा आयो । हेलिकप्टर एक सय थान कम्बल र १५ थान त्रिपाल खसालेर एक जना घाईतेलाई लिएर नेपालगञ्ज फर्कियो ।
खानेकुरा पाउने ठुलो आसमा रहेका विस्थापित परिवार केही थान कम्बल र त्रिपाल मात्रै आएको थाहा पाएपछि निराश भए । बारेकोट सिनचौरका मानबहादुर नेपालीले दुखेसो गर्दे भन्नुभयो, ‘हेलिकप्टरले खाने कुरा ल्याउला र खाउँला भनेको त, कम्बल पो ल्याएछ । अब के खाएर बस्ने रु’ पहिरोको जोखिम भएपछि, घर छोडेको १० दिन बितिसकेको छ । घरबाट ल्याएको चामल र पिठो सकिएको विस्थापितहरु बताउँछन् ।
कम्बल र त्रिपाल पनि आवश्यक भएको तर त्यो भन्दा पहिले खानेकुरा चाहिएको मानबहादुर बताउनुहुन्छ । हालसम्म हेलिकप्टरले ७ बोरा मात्रै चामल झारेको छ । पहिरो प्रभावित बारेकोटमा खाद्य सङ्कट परेको छ । बारेकोटका बाढी पहिरो प्रभावित भोकभोकै पर्न थालेका छन् ।
हालसम्म हेलिकप्टरले ७ बोरा मात्रै चामल झारेको छ । पहिरो प्रभावित बारेकोटमा खाद्य सङ्कट परेको छ । बारेकोटका बाढी पहिरो प्रभावित भोकभोकै पर्न थालेका छन् ।
खानेकुरा नभएपछि विस्थापित परिवार समस्यामा परेका हुन् । घरमा भएको अन्न सकिएपछि आफुहरु निकै समस्यामा परेको उनिहरुको भनाई छ । विद्यालयको छाना समेत चुहिएको विस्थापितहरु बताउँछन् । घरमा भएको अन्न पिस्ने घट्ट खोलामा आएको बाढीले बगायो । के खाएर बाँच्ने मान बहादुर भन्नुहुन्छ, ‘केही दिन यस्तै अवस्था रहे भोकैले मरिएला भन्ने डर छ ।’
एक हजार ५५ परिवार परिवारहरु विस्थापित
बाढी पहिरोको त्रासले अहिले बारेकोट गाँउपालिकाका एक हजार ५५ परिवार विस्थापित भएर स्थानिय विद्यालय, गोठ र चौरमा बसिरहेका छन् । केही विस्थापितहरु पानी पर्न रोकिएपछि घर फर्किएका छन् । तर धेरै परिवारसँग खाद्यान्न सकिंदै गएको छ ।
बारेकोटमा किनेर खाने खाद्यान्न पनि पाईदैन । किन्ने खाद्यान्न पनि नपाईएपछि विस्थापितहरु भोकभोकै पर्न थालेको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले जानकारी दिनुभयो । बारेकोट गाँउपालिकामा उत्पादित अन्नले वर्षदिनमा ५÷६ महिना मात्र खान पुन्ने अवस्था छ । अधिकांश मजदुरी गर्न भारत र सिजनको बेला यार्सा संकलनबाट कमाएको पैसाले नै जिविकोपार्जन गर्दै आएका छन् । तर यसपाली कोरोना महामारीका कारण उनिहरुले काम गर्न पाएनन् । त्यही कारण अधिकांश नागरिक पहिरोले विस्थापित हुनु अघि नै खाद्य संकट झेलिरहेका थिए ।
खाद्यान्न ढुवानी नहुँदा झन् समस्या
गाउँपालिका भरीमा खाद्यान्न पसल जम्मा ५ वटा मात्रै छन् । तर ति पसलले पनि ढुवानी समस्या झेलिरहेका छन् । गाउँपालिका भित्रका अधिकांश नागरिक खाद्य संस्थानको चामलमा भर पर्दै आएका छन् । यसपटक खाद्य डिपो पनि रित्तै छ । त्यस कारण पहिरोबाट विस्थापित भएकाहरुलाई भोकमरीको चिन्ता छ ।
बर्षेनी खाद्य सङ्कट भइरहने जाजरकोटको बारेकाटका करिव २० हजार बासिन्दाका लागी भनेर सरकारले स्थापना गरेको खाद्य डिपो यतिवेला रित्तै छ । बारेकोटमा खाद्य सङ्कट दिनहुँ चुलिदै गएको छ तर ढुवानीको जिम्मा लिएका ठेकेदारले चामल ढुवानी नगर्दा समस्या देखिएको छ ।
बारेकोटको खाद्य सङ्कट टार्न सरकारले नेपाल खाद्य संस्थानलाई चालु आर्थिक बर्षमा थप सहित तीन हजार पाँच सय क्वीन्टल चामलको कोटा निर्धारण गरेको छ । चामल ढुवानीका लागी सरकारले अनुदान दिदै आएको छ ।
तर आर्थिक बर्ष सकिदा पनि चामल ढुवानीको जिम्मा लिएका एन वि विल्डर्सका प्रतिनिधी मानबहादुर खड्काले २ हजार चार सय ४२ क्वीन्टल मात्र चामल ढुवानी गरेका छन् । एक हजार ५८ क्वीन्टल चामल ढुवानी नगर्दा बारेकोटमा खाद्य सङ्कट परेको हो । ‘गाँउमा खाद्यन्नको अभाव छ । ठेकेदारले चामल ढुवानी गर्र्दैनन् । गाँउमा उत्पादन भएको अन्न सकियो । पसल छैन । डिपो रित्तै छ, के किनेर खाने रु विस्थापित बारेकोट गाँउपालिका १ धौलाकोटका टेकेन्द्र नेपालीले भन्नु भयो, सरकार हाम्रो समस्या पनि सुनिदेउ । हामी त साह्रै समस्यामा पर्यौ ।
केही हुनेखाने बाहेक यतिवेला बारेकोटका सवै घरमा खाद्य संकट छ । लेकाली र भिरालो जमिन भएकाले अन्न उत्पादन पनि खासै हुँदैन । त्यहाका बासिन्दा सधै खाद्य संस्थानकै चामलमा निर्भर छन् विस्थापित परिवारमा मात्र होइन । विस्थापित नभएका परिवार सँग पनि खाद्य मौज्दात छैन ।
विस्थापित परिवार अधिकांश विपन्न बर्गकै
विस्थापित परिवारहरु विपन्न बर्गका छन् । लकडाउनकै कारण धेरै मानिसहरु गाँउ फर्किएका छन् । रोजगारीका अवसर छैन । त्यही माथि पहिरोले बारेकोटका विभिन्न गाँउ तथा बस्तीहरु छियाछिया परेका छन् । मानिसहरु कामको खोजीमा बाहिर निस्कन सकिरहेका छैनन् । बर्षात रोकिएको छैन । विस्थापित सवै परिवार राहतकै पर्खाईमा छन तर अहिले सम्म कतैबाट सहयोग भएका छैन ।
‘गाँउमा खाद्यन्नको अभाव छ । ठेकेदारले चामल ढुवानी गर्र्दैनन् । गाँउमा उत्पादन भएको अन्न सकियो । पसल छैन । डिपो रित्तै छ, के किनेर खाने ?
बारेकोटका जिरी, तल्लो जिरी , धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, धौलाकोट, कोट्ली लगायतका गाँउकम केही दिनमै भोकमरीको अवस्था सिर्जना हुँदैछ । गाँउपालिका एक्लैले विपदको सामना गर्न सक्ने अवस्था छैन । विस्थापितलाई खान बस्नको लागि निकै समस्या छ । बारेकोट गाँउपालिकाका महेन्द्र शाहले भन्नुभयो ‘यातायात र सञ्चार सम्पर्कबाट विच्छेद हुँदा पनि पहिरो प्रभावितलाई सहयोग तथा राहतमा समस्या भएको छ ।
राहत सामग्रीका लागि हवाई मार्ग बाहेकको विकल्प छैन । तर केन्द्र सरकार सुन्दैन । बारेकोटका एक गाँउबाट अर्को गाँउ जान र एक वडाबाट अर्को वडा जान कम्तिमा ५/६ घण्टा लाग्ने भएकोले पनि तथ्यांक संकलनमा समस्या भएको हो ।
विश्व खाद्य कार्यक्रमको टोलि प्रभावित क्षेत्रमा
विस्थापित परिवार सँग खाने अन्न छैन । खाद्य डिपो रित्तै छ । गहँ मकै, कोदो पिस्ने घट्ट बाढीले बगाईदिएको छ । किनेर खाने बजार छैन । बाटो घाटो अवरुद्ध छ । यतिवेला बारेकोटी जनता निकै समस्यामा छन् । तत्काल सरकारले खाद्यन्न लगायतका राहत सामग्री पठाउनुपर्छ । बारेकोटमा यतिवेला स्थलमार्गबाट खाद्यन्न ढुवानी गर्न सक्ने अवस्था छैन । यो देखेर विश्व खाद्य कार्यक्रमको टोलि बारेकोटको अवस्था बुझ्न गाँउमा नै पुगेको छ ।
पानी निरन्तर परिरहेकोले जमिन भासिने र पहिरो जाने क्रम नरोकिदा पहिरो जाने डरले घर छोडेका स्थानियहरु विद्यालय, आफन्त, गोठ र सार्वजनिक चौरहरुमा त्रिपाल हालेर बसिरहेका छन । धेरैजसो विस्थापितहरु स्थानिय विद्यालयमा बसिरहेका छन् ।
उनीहरु त्रिपाल पाए चौरमै बस्न चाहन्छन् । तर त्रिपाल नहुँदा कोरोना लगायतको जोखिम मोलेरै सयौको संख्यामा कोेचिएर बस्न विवस भएको गाँउपालिका उपाध्यक्ष ओमा शाहीले बताउनुभयो । केही दिनमै खाद्यन्न ल्याउन नसके विस्थापितहरु भोकभोकै पर्ने अवस्था रहेको उहाँको भनाई छ । उहाले ‘हेलिकोप्टरबाट तत्काल खाद्यन्न लगायतका राहत सामग्री पठाउन केन्द्र सरकार सँग माग गर्नुभयो ।’
गत असार २५ मा बारेकोट ४ सार्कीटोलमा गएको पहिरोमा परि ११ जनाको मृत्यु भएको छ भने एक जना अझै पहिरोमा बेपत्ता भएका छन् । त्यस्तै बारेकोट ६ धुमाखोलाले बगाउँदा बेपत्ता दुई जना पनि अझै फेला पर्न सकेका छैनन् ।
साभार सिआइएन खबर