काठमाडौं । नारायणी नदीको बाढी पसेपछि नवलपरासीको सुस्ता क्षेत्र जलमग्न भएको छ । लगातारको वर्षाले जलसतह खतराको विन्दुभन्दा माथि पुगेपछि बाढी बस्तीमा पसेको हो।
सुस्ता गाउँपालिका-५ मा बाढी पसेको सुस्ता बचाउ अभियानका सदस्य रविन्द्र जैसवालले जानकारी दिए । सहायक नदीको जलाधार क्षेत्रमा भइरहेको लगातार वर्षाका कारण ६ साउन बिहानदेखि पुनः नारायणीमा पानीको बहाव बढेको छ।
गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेका अनुसार, सुस्ता गाउँमा चार फिटसम्म पानी जमेको छ । बस्ती जलमग्न भएपछि स्थानीय बाहिर निस्कन सकेका छैनन्।
नाराणी नदीको देवघाटमा रहेको बाढी मापन केन्द्रमा आज बिहान ९ बजे पानीको सतह ९।९१ मिटर पुगेको छ । हिजो साँझ ९ बजे ९।७८ पुगेको थियो।
त्यसपछि क्रमशः घट्न थालेको पानीको सतह आज बिहानदेखि फेरि बढ्न शुरु गरेको हो । आज बिहान ५ बजे नदीमा पानीको तह ८।८७ मीटर थियो। तर, ८ बजे ९।८९ मीटर र ९ बजे ९।९१ मीटर पुगेको हो।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार ४१ वर्ष यताकै यो सबैभन्दा ठूलो बाढी हो । सन् १९७९ मा पानीको सतह ९।४ र १९८९ मा ९।२ मीटर मापन भएको थियो । २२ जुलाई २०१३ मा ९।१५ मीटर पुगेको थियो।
नारायणी नदीले ५ साउन बिहानदेखि खतराको तह पार गरेको हो । नारायणीको देवघाटमा पानीको वहाव ८ मीटर पार हुनुलाई खतरा मानिन्छ।
नारायणीको सहायक नदी पूर्वी राप्तीमा पनि पानीको बहावले सतर्कता तह पार गरेको छ । राप्तीको मकवानपुर केन्द्रमा पानीको वहाव ३।३५ मीटर छ । राप्ती देवघाटभन्दा दक्षिणमा मात्र नारायणी नदीमा मिसिन्छ।
उता, सप्तकोशी नदीमा पनि पानीको सतह खतराको विन्दु नजिक पुगेको छ । सप्तकोशीको चतरा स्थित बाढी मापनकेन्द्रमा पानीको सतह सतर्कताको तह पार गरिसकेको छ। सप्तकोशीमा लगातार पानीको वहाव बढिरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सप्तकोशीको सहायक नदी अरुण नदी ५ साउनदेखि लगातार खतराको तहभन्दा माथि छ।
कनकाई, कमला, वागमती र तिनाउमा जलसतह सतर्कता विन्दु आसपास हुने जनाइएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार गत १२ घण्टामा मकवानपुरगढीमा १५० र गोरखाको आरुघाटमा ११८ मिलिमीटर वर्षा मापन गरिएको छ।