सुर्खेत । आफूले बारीमा लगाएको बन्दागोभीले बजार नपाएपछि दुर्गम कालीकोटका किसानले अतथिलाई माला लगाएर सरकारको ध्यानाकर्षण गराएका छन् ।
कालिकोट रास्कोट नगरपालिका–९ का किसानहरुले अतिथिहरुलाई बन्दागोभी र स्याउको माला लगाएर स्वागत गर्दै तीनै तहका सरकारको ध्यानाकर्षण गराएका हुन् । किसानहरुले लगाएको बाली बिक्रि नहुँदा बारी कुहिने समस्या भएका बेला अनुगमनका गएका नरपालिका कर्मचारी तथा अन्यलाई बन्दागोभीको माला लगाई दिएका हुन् ।
रास्कोट नगरपालिका–९ को ताम्ती र कागेझार गाउँका किसानहरुले लगाएको तरकारी बाली तथा अन्य बाली बिक्रिमा समस्या भएकाले बजारीकरणमा सहज बनाउन र उत्पादन बृद्धिमा ध्यान पुगोस भनेर अनुगमनमा नगरपालिका पदाधिकारी तथा कर्मचारीलाई बन्दागोभीको माला लगाएर स्वागत गरिएको स्थानीय किसान धर्मराज ऐडीले बताए ।
‘हामीले अर्गानिक बालीको उत्पादन गछौं ।’ उनले भने,‘अनुगमनमा आएहरुलाई हामीले उत्पादन गर्ने तरकारी तथा अन्य कृषि बालीको बजारीकरणमा ध्यान जाओस भनेर यही उत्पादन गरिएको तरकारीले स्वागत गरिएको हो ।’
ताम्ती ४० घरधुरी र कागेझार गाउँमा २५० घरधुरीले मौसमी तथा बेमौसमी तरकारीको खेती गर्ने गरेको सिमी तथा बयर बाख्रापालनको स्रोत केन्द्र भएकोले नगरपालिकाका पदाधिकारी, राजनीतिक दलले संयुक्त अनुगमन गर्दा किसानहरुले आलु, बन्दागोभीको माला लगाई दिएको रास्कोट नगरपालिका–९ का वडा अध्यक्ष डबल बोगटीले बताए । ‘किसानहरुले आफुहरुले उत्पादन गरेको बस्तु देखाउन पनि बन्दागोभी, आलु र स्याउको माला लगाइदिनुभयो ।’ उनले भने,‘किसानहरुले माला लगादिएपछि अस्वीकार गर्ने कुरा पनि भएन् ।’
ताम्ती र कागेझार गाउँलाई सिमी तथा आलु पकेट क्षेत्रका रुपमा विकास गरिएको अध्यक्ष बोगटीले बताए । ‘महामारीका कारणले बिदेशबाट फर्किएलाई स्थानीयस्तरमा कृषिमा रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य रहेको छ ।’ उनले भने,‘त्यही आधारमा वडापालिकाले योजना बनाएको छ ।’