एजेन्सी (बेइजिङ) । चीनले मंगल ग्रहमा रकेट प्रक्षेपण गरेको छ ।
सुरक्षात्मक आवरणयुक्त उक्त ६ चक्के रोबोट बोकेको ‘लङ मार्च–५’ रकेट शनिबार बिहान चीनको हैनान द्वीपस्थित वेनचाङ अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको बीबीसीले जनाएको छ । अभियानलाई ‘तियावेन–१ (स्वर्गलाई प्रश्न)’ नाम दिइएको छ ।
चिनियाँ अधिकारीका अनुसार उक्त रकेट फेब्रुअरीमा मंगल ग्रहको कक्षनजिक पुग्ने छ । त्यसको २ देखि ३ महिनासम्म मंगल ग्रहको सतहमा उत्रिने कोसिस नगर्ने जनाइएको छ । यसले इन्जिनियरहरूलाई मंगल ग्रहमा अवतरण हुनुपूर्व त्यहाँको वायुमण्डलको अवस्था पत्ता लगाउन सहयोग पुर्याउने ठानिएको छ ।
दुई साताभन्दा कम अवधिमा मंगल ग्रहमा प्रक्षेपण गर्ने भनिएका तीनवटा रकेटमध्ये यो दोस्रो हो । गत सोमबार युनाइटेड अरब इमिरेट्स (यूएई) ले ‘होप’ नामक यान प्रक्षेपण गरेको थियो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एक साताभित्र आफ्नो नयाँ पुस्ताको वाहन मंगल ग्रहमा पठाउने जनाएको छ ।
वेनचाङस्थित कमान्डर झाङ सोएयूले तियावेन–१ को प्रक्षेपण योजनाअनुसार नै भएको बताए । ‘मंगल ग्रहका लागि चीनको पहिलो अभियानको प्रक्षेपण पूर्ण रूपमा सफल भएको घोषणा गर्छु,’ उनले भने । तियावेन–१ लाई मंग्रल ग्रहको भूमध्यरेखाबाट उत्तरमा रहेको समथर भूभागमा अवतरण गराई त्यहाँको भूगर्भको अध्ययन गर्ने लक्ष्य राखिएको छ ।
सन् २००० मा नासाले प्रक्षेपण गरेका ‘स्पिरिट’ र ‘अपरच्युनिटी’ जस्तै देखिने ‘तियावेन–१’ को तौल करिब २ सय ४० किलो रहेको छ र यसमा सजिलै मोडिने सोलार प्यानलहरू राखिएका छन् । यसमा राखिएका क्यामेराको मद्दतले तस्बिर खिच्न तथाा यानको दिशा पत्ता लगाउन सकिन्छ । त्यसका साथै यानमा रहेका विभिन्न ५ प्रकारका उपकरणले मंगल ग्रहमा रहेको पानी, ढुंगा र बरफको खोजी गर्न सघाउने जनाइएको छ ।
हालसम्म मंगल ग्रहका लागि प्रक्षेपण गरिएकामध्ये कम्तीमा आधा दर्जन अभियान असफल देखिएका छन् । युरोप र सोभियत संघका अभियान अवतरण भए पनि तिनले निर्धारित कार्य गर्न सकेका थिएनन् । सिन्ह्वा