पाल्पा । जिल्लाका आइसोलेशनमा बसेर घर फर्किनेको संख्या बढे पनि पुनः जिल्लामा कोरोना भाइरस संक्रमण बढेको छ ।
केही दिनयता शुन्य संक्रमण नतिजा आएकोमा हिजो एकैदिन चार जनामा कोरोना संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रम्भा गाउँपालिकाका चार जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
हुँगीमा रहेको जनकल्याण माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका चार जनामा संक्रमण देखिएको गाउँपालिकाले जानकारी दिएको छ । रम्भा गाउँपालिकामा संक्रमितको संख्या ४४ पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । यो समेत जिल्लामा संक्रमितको संख्या ५ सय ६१ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि रामपुर नगरपालिकामा एक सय १७, तानसेन नगरपालिकामा १४, बगनासकाली गाउँपालिकामा ४२, माथागढी गाउँपालिकाका ३०, तिनाउ गाउँपालिकाका ८ पुगेका छन् । रैनादेवी छहरा गाउँपालिकामा ३९, निस्दी गाउँपालिकमा ९९, पूर्वखोला गाउँपालिकामा १ सय ६०, रिब्दीकोट गाउँपालिकामा ५ पुगेका हुन् ।
उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो । पूर्वखोलाका एक जनाको मृत्यु भएको छ । जिल्लामा कूल संक्रमित मध्ये ५ सय ४७ जना संक्रमित निको भएर घर फर्किएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
माथागढी गाउँपालिकाका २९ जना, रामपुर नगरपालिकाका १ सय १७, पूर्वखोलाका १ सय ५९, रैनादेवी छहराका ३८, रम्भाका ४०, बगनासकालीका ३७, तिनाउका ८, रिब्दीकोटका ५, निस्दीका ९८, तानसेनका १३, गुल्मीका २ र अर्घाखाँचीका एक जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका उहाँले जानकारी दिए । १४ दिनसम्म आइसोलेशनमा बस्दा कुनै लक्षण नदेखिएपछि पुनः परीक्षण नगरी घर पठाइएको स्वास्थ्य कार्यालयको भनाई छ । संक्रमित मध्ये १३ जनाले विभिन्न आइसोलेशन सेन्टरमा रहेर उपचार गराउँदै आएका छन् ।