सिमकोट । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा आन्तरिक रुपमा सञ्चालनमा रहेका निजि यातायातहरुको मनपरी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय हुम्लाले पहिलो पटक पहल थालेको छ ।
आइतबार खार्पुनाथ भे १ च १३५० नम्बरको रातो प्लेडको गाडीमा लोड भन्दा बढी यात्रु चढाएको देखेपछि ट्राफिक प्रहरीले रोकेर चालकको लाइेन्स र विलबुक माग्दा नदिएपछि हुम्लामा पहिलो पटक ट्राफिक प्रहरीले एक हजारको पुर्जि काटेर अव्यवस्थित यातायातका साधनलाई व्यवस्थित गर्ने कामको थालनी गरेको हो ।
भर्खरै ट्रयाक खोलिएको सडकमा गाडी गुडाउने अनुमती नभएपनि जिल्लामा केही व्यक्तीको पहलमा जिल्ला सुरमुकाम सिमकोटबाट ९ देखि ११ किलोमिटरसम्मको दुरीमा यात्रु ओसारिरहेका रातो प्लेटका सवारी साधनहरुले ट्राफिक नियम पालन नगरेको भन्दै नियन्त्रणमा लिन संकेत गरेको हो ।
सिमकोट–खार्पुनाथ, सिमकोट–ठेहे, सिमकोट–डाँडाफया सडक खण्डमा क्षमता भन्दा बढी यात्रु बोक्ने, सवारी चालक अनुमती पत्र नभएकाले गाडी चलाउने, सवारी साधनको विलवुक नविकरण नगराउने गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले कानूनी कारबाहीलाई अघि बढाउने संकेत देखाएको हो ।
कसरी सक्रिय बन्यो हुम्ला प्रहरी ?
गाडीले हुडमा ट्राफिक नियम विपरित गाडीको हुटमा ३ जना, पछाडी १२ जना चढाएको र १ जना झुण्डीएको अवस्थामा यात्रा गरिरहेको देखेपछि गाडी रोकेर त्यसो नगर्न आग्रह गर्दा गाडी धनीले उल्टै ट्राफिक प्रहरीलाई अपशब्द बोल्ने र धम्की दिएपछि प्रहरीले सक्रियता देखाएको हो । नियमसंगत सवारी चलाउन आग्रह गर्दा उल्टै ट्राफिक प्रहरीलाई गाली गलौज गरेपछि उक्त गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ को उपदफा (घ) ६ को व्यवस्था अनुशार एक हजारको जरिवाना पर्ने गरी चिट काटेको जिल्ला प्रहरी कार्यालय ट्राफिक प्रहरी शाखाका प्रहरी जवान अमरबहादुर शाहीले जानकारी दिए ।
‘मैले गाडीमा असुरक्षित यात्रा गरेको देखेपछि रोकेर त्यसो नगर्न भने, ट्राफिक प्रहरी शाहीले नेपालबोटलाई भने, ‘तर उल्ट गाडी धनी बुधे बुढाले म माथि नैं खनिएपछि प्रचलित नियम अनुसार एक हजारको चिट काटेको हुँ ।'
शाहीका अनुसार उक्त गाडी सहचालकले चलाएका थिए भने कसैसँगपनि सवारी चालक अनुमती पत्र समेत थिएन् । सवारी चालक अनुमती पत्र देखाउन आग्रह गर्दा नभएको भन्दै आफूलाई सवारी धनीले थर्काएको बताएका टफिक प्रहरी जवान शाहीले गाडीको बिलवुक समेत २०७६ माघ देखि नविकरण नभएको भेटे । कानूनको कुनैपनि आधार नभेटिएको उक्त रातो नम्बर प्लेटको गाडी धनीले उल्टै प्रहरी माथि अनेक प्रकारको धम्की दिएपछि चिट काटिएको थियो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ का न्यूनतम मान्यता पनि पालना नगरेरै लामो समय जिल्लामा सवारी साधन सञ्चालन भएपनि यस अघि जिल्लाको प्रहरी प्रशासन मुखदर्शक बनेको थियो । तर सवारी धनी र ट्राफिक प्रहरी बीचको सामान्य विवादले जिल्लामा सवारी व्यथिती नियन्ण गर्ने पहिलो प्रयासका रुपमा काम भएको स्वयम् प्रहरीले स्विकार गरेको छ । ‘जिल्लामा शक्ति र पहुँचका भरमा सवारी साधन सञ्चालन गर्ने काममा निकै ठूलो व्यथिती भएपनि हामीले (प्रहरी प्रशासन) नदेखे झै गरेका थियौं । एक प्रहरी अधिकृतले भने, ‘तर कानून विपरितका काम पनि गर्ने उल्टै प्रशरी प्शासनलाई पनि नियन्त्रणमा लिन खोज्ने प्रवृती देखिएपछि हामीले बाध्य भएर कानूनी कारबाहीको प्रक्रिया चालेका हौं ।'
ट्राफिक प्रहरीले चिट काटेपछि आइतबार वुलुका नैं गाडी धनी बुढा जिल्ला प्रहरी कार्यालय गएका थिए । सामान्य अवस्थामै प्रहरी परिसरमा पुगेका गाडी धनी बुढाले ट्राफिक प्रहरीले काटेको चिट अनुसारको रकम तिर्न सहमत भएर फर्किए । गाडीमा क्षमता भन्दा बढी यात्रु राखेको, ट्राफिक प्रहरी र सवारी धनी बीच भएको विवादको विषयमा जिल्लामा प्रकासित कर्णाली सरोवर दैनिकमा समाचार प्रकाशित भएपछि यो विषयले थप अर्कै मोड लियो ।
आइतबार वेलुका जिल्ला प्रहरी कार्यालय परिसरमा निकै सामान्य अवस्थामा चिट अनुसार राजश्व रकम तिर्ने मञ्जुर भएका सवारी धनी बुढा सोमबार बिहान समाचार प्रकासित भएको कर्णाली सरोवर दैनिक पत्रिका हातमा लिएर निकै आक्रोसित हुँदै जिल्ला प्रहरी कार्यालय पुगेपछि घटनाले थप मोडियो । प्रहरी कार्यालय पुग्ने बित्तिकै ट्राफिक प्रहरी शाहीलाई भौतिक रुपमै सवारी धनी जाई लागेपछि प्रहरीलाई कानूनी कारबाही अघि बढाने चेत खुल्यो ।
‘शुरुमा काटिएको चिट अनुसार राजश्व रकम बुझाएपछि सबै कुरालाई नदेखे झैं गर्ने मनस्थितीमा प्हरी कार्यालयमा थियो, नाम नखुलाउन उल्लेख गरेको एक प्रहरी अधिकृतले भने, ‘उल्टै सवारी धनी बुढाले प्रहरी परिसरमै प्रहरीमाथि जाइ लागेपछि हामीलाई बाध्य भएर कानूनी कारबाही गर्ने प्रेरित गर्यो ।'
सवारी धनी बुढा प्रहरी हिरासतमा
सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राखेको विषयबाट शुरु भएको कुरा लिएर सोमबार जिल्ला प्रहरी कार्यालय हुम्ला पुगेका भे १ च १३५० नम्बरको सवारी धनी बुधे बुढालाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।
ट्राफिकको चिट अनुसार एक हजार रकम राजश्व बुझाउने गएका बुढाले ट्राफिक प्रहरीलाई भौतिक रुपमा कारबाही गर्ने चेतावनी प्रहरी कार्यालयमै दिएर भौतीक रुपमा जाई लागेपछि प्रहरीले गाली बेइजती, धम्की दिएको कसुरमा नियन्त्रणमा लिएर हिरासतमा राखेको जनाएको छ । बुढालाई हिरासतमा राखेको, अगाडी हुने प्रक्रियाका बारेमा कुनै कुरा उल्लेख नगरेको प्रहरीले सवारीमा देखिएको व्यथितीलाई नियन्त्रण गर्ने मौकाका रुपमा यो घटनालाई लिएको देखिन्छ ।