काठमाडौं । समथर फाँटका गह्राहरुदेखि गैरिखेतसम्मको रोपाई सकिसक्यो होला, शुरुमा रोपेका धानहरु त अब गोड्ने बेला नै भइसकेको हुनपर्छ । भदौरे धानका वालाहरु फुट्न नि थालिसके र अब यो रोपाइपछिको आनन्दमय समयमा थप आनन्द थप्न लस्कर लागेर चाडपर्वहरु आउन थालेका छन् ।
वास्तवमा रोपाई पछिको सुस्केरा मार्ने समयकारुपमा परम्परागत रुपमा जनैपुर्णीमा वा साउने पूर्णिमाका रुपमा मनाउने चलन अनुसार आज जिल्लाभर यो पूर्णीमा मनाइदैं छ ।
आज चाड विशेष दिनमा विभिन्न रंगीन राखीहरुले पसलहरुमा झिलिमिल थपेका छन । अनि दिदि बहिनी हुनुहुन्छ भने आफ्ना दाजूभाइहरुकालागि राखी खरिद गरेर हातमा लगाइदिने दिनका रुपमा समेत आजको दिनलाई मनाइने चलन छ । जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन ।
ब्राह्मण र क्षत्रिय पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरुपुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।
यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारीसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।
जुन रक्षा (काँचो धागो)ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ । आजको दिनलाई नेपालभाषामा गुंपुन्हि पनि भनिन्छ । नेवार समुदायले आजको दिनलाई ूगुंला महिनाको पुन्हिू अर्थात ूगुंपुन्हिू भनेर मनाउँछन् ।
रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारकादिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरीदिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्त हुने विश्वास रहि आएकोछ । कतिपयले आफै गुरु पुरोहितकहाँ गई या मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् ।
यसै दिन दिदीवहिनीहरुले आफ्ना दाजूभाइका दाहिने हातका नाडिमा दिर्घायू र सफलताको कामना गर्दै रंगीचंगी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराइक्षेत्र लगायत भारत, बंगलादेश लगायतका देशहरुमा राखीको चलन र यस चाडको महत्व एकदमै बढि रहेको छ ।