एजेन्सी । विश्वब्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण छिटो र सहज रुपमा गर्ने प्रविधिको विकासमा वैज्ञानिकहरु लागि परेका छन । यहि प्रयासमा ब्रिटेनका वैज्ञानिकहरुले राम्रो सफलता हात पारेका छन ।
किनकी त्यहाँ केवल ९० मिनेटमा कोरोना परीक्षणको नतिजा प्राप्त गर्न सकिने प्रविधिको विकास भएको छ । यो अहिलेसम्मकै नयाँ खालको रेपिड टेस्ट हो । यसलाई लेमपोर भनिन्छ । कोरोना भाइरस संक्रमण र फ्लुको परीक्षण गरिने यो प्रविधि आउँदो हप्तादेखि ब्रिटेनभर लागु हुँदैछ ।
यो प्रविधिको प्रयोग सबैभन्दा पहिले केयर होम र प्रयोगशालाहरुमा हुनेछ । यो लेमपोर प्रविधिबाट ठाउँको ठाउँ स्वाब र डिएनए परीक्षण गर्न सकिने ब्रिटिस सरकारले जनाएको छ । यसबाट कोरोना संक्रमण भए नभएको र अन्य मौसमी रोग लागे नलागेको बारे पत्ता लाग्छ ।
यो प्रविधि आउँदो जाडो मौसमका बेला सहयोगी सिद्ध हुने ब्रिटेनका स्वास्थ्यमन्त्री म्याट हेनककले बताए । खासगरि यो प्रविधिले जाडो समयमा लाग्ने विभिन्न खाले फ्लु र कोरोना भाइरस संक्रमण बारे छिटो र सजिलो रुपमा पहिचान गर्न सक्नु निकै उपलब्धीमुलक हुने मानिएको छ ।
आउँदो हप्ता केयर होम र प्रयोगशालाहरुमा करिब ५ लाख परीक्षण गरिनेछ । आगामी सेप्टेम्बरसम्म ब्रिटेनका सबै एनएचएस अस्पतालहरुमा लेमपोर परीक्षणमा आधारित हजारौं डिएनए परीक्षण मेसिनहरु जडान गरिने छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार मेशिनले ५८ लाख वटा परीक्षण गरिने बिबिसीले जनाएको छ । यो परीक्षणको सटिकताका बारेमा विस्तृतमा नबताइए पनि अक्सफोर्ड युनिभर्सिटीका मेडिसिन प्रोफेसर तथा कोरोना परीक्षण सम्बन्धि सरकारी सल्लाहकार डाक्टर जन बेलले यो परीक्षण अहिले प्रचलित पीसीआर प्रविधि जत्तिकै विश्वसनीय रहेको बताएका छन ।
यो परीक्षणका लागि मेशिन निर्माण गरिरहेको कम्पनी डिएनए नजका सह संस्थापक प्राध्यापक क्रिस टुमाजुले यो परीक्षण प्रविधि द्रुत र विश्वसनीय रहेको बताउँदै जुनसुकै ठाउँमा पनि लगेर परीक्षण गर्न सकिने बताए । यो प्रविधिमा आधारित परीक्षण किट बनाएका अक्सफोर्ड नानोपोरका प्रमुख कार्यकारी गोर्डन संघेराले यो परीक्षण विश्वभरका लागि सस्तो र सजिलो हुने बताए ।