सुर्खेत । भदौ १ गतेदेखि कर्णाली प्रदेश भित्रिन अनिवार्य पीसीआर रिर्पोट आवश्यक पर्ने भएको छ ।
प्रदेश कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले प्रदेश भित्रिन अनिवार्य पीसीआर रिर्पोट नेगेटेभ आवश्यक पर्ने निर्णय गरेको हो । पछिल्लो समय कोरोना सङ्क्रमण जोखिम बढ्दै गएपछि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो ।
कर्णाली प्रदेश भित्रिने मुख्य नाका बबई, सल्यानको कालीमाटी काल्चे तथा कपुरकोट र सुर्खेतको पश्चिममा रहेको कुइने नाकामा कडाइ गरिनुका साथै पीसीआर रिर्पोट तीन दिन अगाडिको हुनुपर्ने निर्णय गरिएको छ ।
यस्तै व्यवस्थापन केन्द्रले अति आवश्यक कामका लागि बाहिर जाने सरकारी कर्मचारी, जनप्रतिनिधिलाई पनि आउँदा र जाँदा अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने निर्णय गरेको छ । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको सङ्ख्या दुई हजार ५२ रहेको छ । तीमध्ये एक हजार नौ सय एक जना निको भएर घर फर्किएका छन् । पछिल्लो समय समुदायस्तरमा र अन्य प्रदेशबाट आएका नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेपछि सरकारले कडाइ गर्न थालेको हो ।
वीरेन्द्रनगरमा निषेधाज्ञा
यसैबीच वीरेन्द्रनगरमा भदौ १ गतेदेखि ५ गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ । पछिल्लो समय वीरेन्द्रनगर नगरपालिकामा समुदायस्तरमा कोरोना सङ्क्रमण देखिन थालेपछि यस्तो निर्णय गरिएको हो ।
जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले भदौ १ गते बिहान ६ बजेदेखि ५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।
अहिलेसम्म वीरेन्द्रनगरमा एक सय ९२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो दुई दिनमा वीरेन्द्रनगरमा ३६ जना कोरोना सङ्क्रमित भेटिएका हुन् । जोखिम बढ्न थालेपछि साउन २५ गतेदेखि सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।