सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले थप ४ दिन निषेधाज्ञ बढाएर ९ गतेसम्मका लागि तोकेको छ ।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा थप ४ दिनका लागि थप गर्ने निर्णय गरेको हो ।
तिजमा जमघट बढी हुने भएकाले जारी गरेको निषेधाज्ञा कोरोना संक्रमण दर बढ्न थालेसंगै ४ दिन निषेधाज्ञा थप गरिएको स्थानीय प्रशासन श्रोतले जनाएको छ । वीरेन्द्रनगर नगरपालिका क्षेत्रमै कोरोना संक्रमितहरुको संख्या दिनुहँ बढ्न थालेपछि निषेषाज्ञा ९ गते राती १२ बजे सम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।
जिल्ला प्रशासन कार्यालयले आज थप ४ दिने निषेधाज्ञा गर्ने निर्णय गरेको हो । विरेन्द्रनगरमा निषेधाज्ञा गरिएसंगै सवारी साधन तथा स्थानीयहरु हिड्माडुलमा प्रतिवन्ध लगाएको छ ।
यस्तै, सुर्खेतको छिमेकी जिल्ला दैलेखमा पनि निषेधाज्ञा थप गरिएको छ । बिहीबार दिउँसो २ बजेदेखि भदौ ७ गते राती १२ गतेसम्म निषेधाज्ञा गरेको हो । दैलेखको पूर्वमा पर्ने जाजरकोट जिल्लाको सिमाना, पश्चिममा कालिकोट, अछामको सिमाना र दक्षिणमा सुर्खेत जिल्लाको सिमानाबाट दैलेख जिल्ला प्रवेशमा रोक लगाईएको प्रशासनले जनाएको छ ।
कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्नु परेको दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए। उनले संक्रमण फैलिन नदिन सजगता अपनाउन सबैलाई आग्रह गरिएको बताउदै संक्रमण बढ्दै गएकाले निषेधाज्ञा जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी सुनारले बताए।
सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले बिहिबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार दैलेखका १८ जना सहित कर्णालीका विभिन्न जिल्लामा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दैलेखमा हालसमम कोरोना संक्रमितको संख्या ९ सय ८३ पुगेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । ती मध्ये ९ सय ३८ जना निको भएर घर फर्केका छन् । जिल्लामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ ।