जुम्ला । कर्णाली प्रदेश सरकारले कर्णाली स्वायत्त प्रदेश स्थापनाका शहिदहरुको सम्मानमा भदौं ४ गते प्रदेश स्तरमा सार्वजनिक विदा दिएकै वेला तिनै शहिदको सालिक राख्ने जुम्लामा भने जग्गा अभाव भएको छ ।
जुम्ला जिल्लामा भएको कर्णाली स्वायत्त प्रदेश आन्दोलनमा भएका सहिद हरिबहादुर कुँवरको सालिक निर्माण सम्पन्न भएपनि उनको सालिक राख्ने स्थान नपाएपछि बनेको सालिक त्यत्तिकै थन्कीएको छ ।
परिवर्तनका लागि गोली खाएर ०७२ भदौ ६ गते बलिदानी गरेका कुँवरको सम्झनामा सदरमुकाममा सालिक राख्ने निर्णय राजनीतिक दलले कार्यान्वयन गर्न नसक्दा सालिक स्थापना हुन सकेको छैन ।
तत्कालीन समयमा उनले ज्यान बलिदान गरेको स्थान जिल्ला प्रशासन कार्यालयको छेउछाउ राख्दा उचित हुने निष्कर्षमा राजनीतिक दल पुगे पनि तत्कालीन घरेलु तथा साना उद्योग विकास समितिको उत्तरतिरको भागमा सालिक राख्ने निर्णय भएको थियो । भने, अहिले नयाँ भवन निर्माण गर्दा सालिक राख्ने स्थानसमेत नभएपछि अन्योल भएको छ ।
सहिद हरिबहादुर कुँवरका दाजु तथा हरिबहादुर कुँवर कर्णाली स्मृति प्रतिष्ठानका अध्यक्ष राजबहादुर कुँवरले भने, ‘सालिक बनिसकेको छ, सालिक राख्ने जग्गासमेत नहुनु विडम्बना हो, दलहरूले गरेको निर्णय कार्यान्वयन गरिनुपर्दछ ।’
सालिक चन्दननाथ नगरपालिका, हिमा गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, गुठीचौर र पातारासी गाउँपालिकाको आर्थिक सहयोगमा १३ लाखको लागतमा निर्माण भएको हो ।