सिमकोट । साविकको कर्णाली अञ्चलका पाँचवटा जिल्लाका स्थानीय वासिन्दालाई सरकारले जन्म र मृत्युको अवसरमा दिने २० किलो चामल हुम्लामा समेत प्रभावकारी बन्दै गएको छ ।
हरेक घरमा जन्म र मृत्युको अवसरमा ढुवानी रकम सहित प्रदान गरिने २० किलोग्राम चालम थप प्रभावकारी बन्दै गएको हो । गएको आर्थिक वर्षको साउन महिनासम्म जन्मको अवसरमा जिल्लाका सातवटै स्थानीय तह र ४४ वटै वडाबाट ५ सय ६० जनालाई एक सय १४ क्विन्टल चामल वितरण गरेको नेपाल खाद्य संस्थान, हुम्ला शाखाका प्रमुख रामबहादुर विष्टले जानकारी दिए ।
“आर्थिक वर्ष २०६६/०७७ मा हामीले मृत्यु भएको अवसरमा प्रदान गरिने चामल एक सय ६५ लाई २० किलोग्रामका दरले ३१ क्विन्टल २० किलो चामल वितरण गरेका छौं,” शााखा प्रमुख विष्टले नेपालबोटसँग भने, “यो कार्यक्रम प्रति हरेक वर्ष स्थानीयको आकर्षण बढ्दै गएको छ ।”
खाद्य संस्थान शाखाका अनुसार सिमकोट शाखा कार्यालयबाट जन्मका अवसरमा ३ सय २०, श्रीनगर डिपोबाट एक सय ३८ र सर्केगाड डिपोबाट एक सय १२ जना गरेर ५ सय ६० जनालाई सात लाख २० हजार ५ सय २० रुपैयाँको चामल निशुल्क वितरण गरीएको छ । उक्त चामल ढुवानीका लागि एक लाख ३३ हजार ५ सय रकम दिएको शाखा प्रमुख विष्टले जानकारी दिए । यस्तै मृत्युको अवसरमा प्रदान गरिने चामल मध्ये सिमकोट शाखाबाट १ सय ३३, श्रीनगरबाट १ र सर्केगाडबाट २२ जना गरेर २ लाख ५ हजार ७ सय ६० मुल्यको एक सय ५६ जनालाई ३१ क्विन्टल चामाल र ६३ हजार ५ सय ढुवानी रकम प्रदान गरिएको छ । सरकारले निर्णय गरेको यो सुविधा लिनका लागि नेपाल खाद्य संस्थान हुम्लाले ३५ दिनको अवधि राखेर जन्मको हकमा बच्चा अस्पतालमा जन्मेको जन्मको प्रतिवेदन तथा बच्चाको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, वडापालिकाको सिफारिश र मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडापालिकाको सिफारिस र सेवा लिन आउने सेवाग्रहीको नागरिकताको प्रतिलिपिका आधारमा चामल र ढुवानी रकम प्रदान गर्दै आएको छ ।
कार्यक्रम अन्तरगत सिमकोट आसपसाका गाउँमका स्थानीय वासिन्दालाई ५०० दिएको छ भने अन्य टाढाका गाउँका बासिन्दालाई एक हजार रकम भुक्तानी गर्दै आएको शाखा प्रमुख विष्टले बताए । २० किलो चामल उपलब्ध हुँदा गरीब घरका मृतकका परिवारलाई केही हदसम्म भए पनि राहत भएको र जन्ममा सुत्केरी महिलाको खाद्य सुरक्षामा सहयोग पुगेको छ ।
तत्कालिन प्रानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” प्रधानमन्त्री हुँदा कर्णाली अञ्चलका हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पाका स्थानीय वासिन्दालाई जन्म र मृत्यमुमा आवश्यक प्रक्रिया पुर्याएर २० किलो चामल दिने कार्यक्रम ल्याइएको थियो ।