एजेन्सी । अमेरिकामा रिपब्लिकन पार्टीले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि औपचारिक रुपमा आफूलाई उम्मेदवार घोषणा गरेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्प विपक्षीमाथि सदाजस्तै आक्रामक रुपमा प्रस्तुत भएका छन्।
उनले रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा विपक्षीले आउँदो चुनावमा धाँधली गर्न सक्ने बताएका छन् । उनले भनेका छन्, ‘उनीहरुले कोरोना भाइरसको महामारीलाई अमेरिकी नागरिकलाई धोका दिन प्रयोग गर्दै छन् ।’
नर्थ क्यारोलाइनामा राष्ट्रिय सम्मेलनको पहिलो दिन ट्रम्पले रिपब्लिकन डेलिगेट्सलाई सम्बोधन गर्ने क्रममा हुलाक मार्फत हुने मतदानमा धाँधली हुन सक्ने आरोप पुनः लगाए ।
उनले पछिल्लो केही समयदेखि हुलाक मार्फत हुने मतदानमा धाँधली हुने बताउँदै आएका छन् । कोरोना भाइरसको महामारीका कारण यो वर्षको चुनावमा धेरै अमेरिकीले हुलाक मार्फत मतदान गर्ने सम्भावना छ ।
डेमोक्र्याटिक पार्टीले चाहने जति सबैलाई हुलाक मार्फत मतदान गर्न पाउने व्यवस्था हुनु पर्ने बताउँदै आएको छ । तर ट्रम्प भने त्यसको विपक्षमा छन् ।
डेमोक्र्याटहरुले कोभिड–१९ लाई चुनाव आफ्नो पक्षमा पार्न प्रयोग गरिरहेको आरोप ट्रम्पले सीमित डेलिगेट्ससहित सुरु भएको सम्मेलनमा लगाएका हुन् । उनले भने, ‘उनीहरुले यो चुनाव जित्ने भनेको धाँधली भयो भने मात्रै हो । हामीले नै जित्ने छौँ ।’
ट्रम्पले लगातार हुलाक मार्फत हुने मतदानमा ठूलो तहमा धाँधली हुने बताउँदै आएका छन् । तर स्वतन्त्र विज्ञहरुले भने त्यस्तो कुनै सम्भावना नरहेको र हुलाक मार्फत हुने मतदान पूर्ण रुपमा धाँधली रहित र निष्पक्ष हुने उनीहरुको भनाई छ ।
आउँदो नोभेम्बर ३ मा हुने चुनावमा ट्रम्पले पूर्व उपराष्ट्रपति समेत रहेका डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको सामना गर्दै छन् । सर्वेक्षणहरुमा ट्रम्प बाइडेन भन्दा लगातार पछि देखिँदै आएका छन् ।