हस्त बुढा
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले लामो प्रयासपछि जुम्लामै स्नातकोत्तर पढाईका लागि अनुमति पाउन सफल भएको छ ।
मङ्गलवार प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले साउन ३० गते अनुमति दिने भनी गरेको निर्णय प्रमाणीकरण भएसँगै जुम्लामै विशेषज्ञ डाक्टर पढाउने बाटो खुलेको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्लामै अब (एमडिजिपी जनरल प्राक्टिस, एमडि एनेष्थेसिया, एम डी पेड्रियाटिक्स) विधाका विशेषज्ञ डाक्टरको पढाई हुने भएको छ ।
गत साउन ३० गते भएको निर्णयको प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रमाणित भएपछि विशेषज्ञ डाक्टर पढाईको बाटो खुलेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका शिक्षाध्यक्ष डाक्टर निरेश थापाले बताए । उनले भने, 'अब राज्यलाई कर्णालीबाटै विशेषज्ञ डाक्टर पठाउन सक्ने जनशक्ति तयार गछौं ।'
विशेषज्ञ सेवा अध्ययन गरेर कर्णालीले मुलुकलाई नै दक्ष जनशक्ति दिने अवसरका लागि नेपाल सरकार प्रधानमन्त्री, राष्ट्रिय चिकित्सा शिक्षा आयोग, प्रतिष्ठानका पदाधिकारीलाई धन्यवाद समेत दिइएको छ ।
मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय प्रधानमन्त्रीले प्रमाणित गरेपछि जुम्लामै एमडि एमएस ५ सिट पक्का भएको हो ।कर्णालीले एमविविएस स्वीकृत समेत पाउने आशा रहेको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मङ्गल रावलले बताए । उनले भने,विशेषज्ञ डाक्टर पढाइका लागि मंगबालरनै प्रतिष्ठानलाई पत्र प्राप्त भइसकेको अस्पताल निर्देशक डा। रावलले जानकारी दिए ।
कोरोना भाइरसको महामारीका बिच पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टिमले एम विविएसका लागि स्वीकृत दिन भन्दै काठमाण्डौमा चिकित्सा शिक्षा आयोग र स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्रीको सचिवालयमा दौडधुप गर्दै आएका थिए । लामो सङ्घर्षपछि अनुमति पाउँदा कर्णालीवासी निकै खुसी भएका छन् ।
कर्णालीवासीको गुणस्तरीय स्वास्थ्य सूनिश्चिताका लागि प्रधानमन्त्री, चिकित्सा शिक्षा आयोगले दिएको अनुमति कर्णालीका लागि वरदान भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना पहल समितिका संयोजक तथा कर्णाली सरकारका कानूनमन्त्री नरेश भण्डारीले बताए ।
उनले भने,“जुम्ला अस्पतालमा आवश्यक पूर्वाधार पनि छ । मात्रै अनुमति आवश्यक थियो सरकारले अनुमति पनि दियो अब राज्यलाई कर्णालीले दक्ष जनशक्ति दिनेमा कुनै दुई मत छैन ।”