काठमाडौँ । आज देशभरको मौसम सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल मनसुन न्यून चापीय रेखा पश्चिमी भू–भाग नजिक रहेको र उत्तरी बंगालको खाडीमा रहेको न्यून चापीय प्रणालीका कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फ युक्त हावाको प्रभाव परेकाले मौसम बदली भएको हो ।
आज प्रदेश १ र २ बाहेक देशका अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद विभूति पोखरेलले जानकारी दिएकी छन् ।
'बिहीबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ', मौहमविद् पोखरेलले नेपालबोटसँग भनिन्, 'आज बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।'
यस्तै राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
देशका विभिन्न भागका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।