काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट विभिन्न जिल्ला गरेर २२० जनाको मृत्यु भएको छ ।
आज मात्रै थप १३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २ सय २० पुगेको हो ।
कोरोना संक्रमणबाट रुपन्देहीमा थप एकजनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-५, का ६७ वर्षीय पुरुषको आज दिउँसो १२ः३० बजे मृत्यु भएको हो । उनी शनिबार अस्पताल भर्ना भएका थिए ।
भक्तपुरमा होम आइसोलेसनमा बसेका ६५ वर्षीय पुरुषको आज मृत्यु भएको छ । भक्तपुर नगरपालिका-१ का बासिन्दा उनको आज बिहान मृत्यु भएको जिल्ला जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले जानकारी दिए ।
सुनसरीको धरानमा कोरोनाबाट आज बिहान पौने घण्टाको फरकमा आमा छोराको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार धरान-१७, का ७४ वर्षीया महिला र उनका ६० वर्षीय छोराको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । आमा छोराको ४५ मिनेटको फरकमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । यसैगरी पर्साको गण्डक अस्पतालमा रौतहटका ४० वर्षीय पुरुषको मृत्यु भएको छ । रौतहटको राजपुरतुल्सीका ती पुरुषको बिहान उपचारका क्रममा मृत्यु भएको डा।अतुलेश कुमार चौरसियाले जानकारी दिए ।
ललितपुरको पाटन अस्पतालमा उपचाररत २९ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । ललितपुरकै स्थानीय वासिन्दा भएका ती पुरुषको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले गएराति १० बजे मृत्यु भएको जनाएको छ ।
कोरोना संक्रमणकै कारण सप्तरीमा पनि थप एक महिलाको मृत्यु भएको छ । राजविराजकी ६५ वर्षीया महिलाको गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो । उनको मृत्युपछि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
उता नवलपुरको विनयी त्रिवेणीका ६२ वर्षीय पुरुषको हिजो बेलुकी चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । उनी भदौ ४ गतेदेखि अस्पताल भर्ना भएका थिए । यसै गरेर रौतहटका ३० वर्षीय पुरुषको पनि ज्यान गएको छ । गम्हरियाका ती व्यक्तिको वीरगञ्ज पर्साको वीरगञ्जमा रहेको कोभिड अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
शनिबार दिउँसो विराटनगरको न्युरो अस्पतालमा मोरङका ६१ वर्षीय पुरुषको मृत्यु भएको छ । उनी भदौ ३ गते अस्पताल भर्ना भएका थिए । महोत्तरीका ७० वर्षीय पुरुषको पनि प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको थियो । मृतकको स्वाब परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै महोत्तरीकी ६२ वर्षीया महिलाको शनिबार बेलुकी पाटन अस्पतालमा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ती महिला ९ गतेदेखि अस्पतालमा उपचाररत थिइन् ।
महोत्तरीकै भंगहाका ३५ वर्षीय पुरुषको पनि प्रादेशिक अस्पताल जनकपुर धाममा मृत्यु भएको छ । शुक्रबार भर्ना भएका उनको हिजो मृत्यु भएको अस्पतालले जनाएको छ ।