काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिए ।
उनले हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाए । त्यसअगाडि उहाँ अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भए । अर्थमन्त्री खतिवडाले आफूले वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिए ।
वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको र आधार बनाउनुपर्ने समय भएकाले बढी नै चुनौती रहेको अर्थमन्त्री खतिवडाको भनाइ थियो ।आफ्नो कार्यकालमा राजस्व प्रशासनमा समेत सुधार भएको उनले दाबी छ ।
खासगरी भ्याट फिर्ता खारेजीको निर्णयलाई अर्थमन्त्रीले सफल निर्णय मानेका छन् । अर्थमन्त्री खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा भएका हुन् । यससँगै अब नयाँ अर्थमन्त्रीको खोजी सुरु भएको छ ।
नेकपाको विवाद समाधानका लागि गठन गरिएको महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन अनुसार अबको सचिवालय बैठकपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी छ । तर, प्रधानमन्त्री ओलीले शुक्रबारको मन्त्रिपरिषद् बैठकमा पुनर्गठन नहुने बताएका थिए । अर्थमन्त्री खतिवडाले राजनामा दिएपछि हव नयाँ अर्थमन्त्रीमा कस्को आवागमन हुने भन्नेमा नेकपा भित्र ठूलै छलखेल शुरु भएको छ ।
प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन नगरे पनि अर्थसहितका तीनवटा मन्त्रालयमा नयाँ मन्त्री छिट्टै पठाउने तयारी छ । उपाध्यक्ष गौतमले आफू उपप्रधानसहित अर्थमन्त्री हुने यसअघि नै सार्वजनिक रुपम बताइसकेका छन् ।
नयाँ अर्थमन्त्री नियुक्त गर्ने संभावित विकल्प
प्रधानमन्त्रीको चाहना अनुसार वर्तमान अर्थमन्त्री डा. खतिवडाले निरन्तरता नपाएपछि आफूलाई सजिलो हुने व्यक्तिलाई अर्थमन्त्रीको प्रस्ताव गर्नेछन् । कोरोना भाइरसको महामारीले आर्थिक क्षेत्रमा पारेको समस्या र त्यसलाई समाधान गर्नेगरी प्रधानमन्त्रीले उपयुक्त विकल्प रोज्ने उनी निकट एक नेताले जानकारी दिए ।
आफू निकट भएको र अर्थमन्त्री बनिसकेको अनुभव भएका महासचिव पौडेल प्रधानमन्त्रीको पहिलो रोजाइमा पर्ने देखिन्छ । उनी निकट नेता भन्छन्, 'प्रधानमन्त्रीज्यूले आफूलाई सजिलो हुनेगरी विकल्पको रुपमा महासचिव पौडेललाई अर्थमन्त्री बनाउन सक्नु हुन्छ । उहाँ नगएमा अन्य विकल्पका विषयमा छलफल गर्नुहुन्छ ।'
महासचिव पौडेलले भने आफू पार्टीको महाधिवेशनमा केन्द्रित हुने भन्दै मन्त्री नबन्ने बताउँदै आएका छन् । आफू निकटसँग महासचिव पौडेलले पार्टीको काममा केन्द्रित भएर समयमै महाधिवेशन गर्ने तयारीमा असर पर्न सक्ने भएकाले अहिले मन्त्री बन्ने चाहना उनले व्यक्त गरेका छैनन् ।
दोस्रो विकल्पको रुपमा प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालय आफूसँगै राख्ने र प्रधानमन्त्रीको आर्थिक सल्लाहकारको रुपमा खतिवडालाई नियुक्त गर्नेछन् । त्यस्तो अवस्थामा खतिवडाले नै अर्थ मन्त्रालय चलाउने एक सचिवालय सदस्यले दावी गरे । उनले भने, 'प्रधानमन्त्रीले आफूले नै अर्थ मन्त्रालय राख्ने र खतिवडामार्फत मन्त्रालय सञ्चालनको तयारी पनि गर्नु भएको छ । एक प्रकारले छायाँमन्त्रीको रुपमा खतिवडाले काम गर्ने सम्भावना छ ।'
तेस्रो विकल्पको रुपमा उपाध्यक्ष गौतमलाई उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारी दिने । यो विकल्प झिनो सम्भावनामा केन्द्रित भएको नेताहरु बताउँछन् । संकटमा पुगेको अर्थतन्त्रलाई उकास्नका लागि अर्थको अनुभव नभएका गौतमलाई मन्त्री बनाउनु समस्या सावित हुने प्रधानमन्त्रीको बुझाइ रहेको नेताहरु बताउँछन् ।
प्रधानमन्त्री ओलीसँग चौथो विकल्पकोरुपमा वर्तमान मन्त्रिमण्डलका सदस्यमध्ये पूर्वअर्थमन्त्रीसमेत रहेका वर्षमान पुन अनन्त वा पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमध्ये एकजनालाई अर्थमन्त्री बनाउने छन् । एक सचिवालय सदस्य भन्छन्, यो सम्भावना सबैभन्दा कमजोर सम्भावना हो । छैन भन्दा पनि हुन्छ ।