वुटवल । विश्व्लाई नै आक्रान्त पार्ने गरेर फैलिएको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको लडाईको सबैभन्दा अग्र मोर्चामा रहेर खट्ने प्रदेश-५ का ४९० स्वास्थ्य र सुरक्षाकर्मी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
पछिल्लो १० दिनयता गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका ३९ जना चिकित्सक एवं कर्मचारीमा कोरोना पुष्टि भयो । एकजना संक्रमित अस्पतालको आकस्मिक कक्षमा उपचार हुँदै आईसीयूसम्म पुग्दा एकैसाथ चिकित्सक तथा कर्मचारीहरू संक्रमित हुन पुगेको अस्पतालको भनाइ छ ।
अहिले संक्रमित सबै होम आइसोलेसनमा छन् ।प्रदेशमा फ्रन्टलाइनमा खटिने चिकित्सक र कर्मचारी गरी १ सय ८९ जना संक्रमित छन् । सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित हुनेमध्ये सबैभन्दा धेरै रूपन्देहीमा ५२ जना रहेका छन् ।
सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले रूपन्देहीमा १६ जना चिकित्सक, १४ जना नर्स र २९ जना कर्मचारी गरी ५२ जनामा कोरोना संक्रमण भएको बताएका छन् । रूपन्देहीपछि सबैभन्दा बढी बाँकेका चिकित्सक तथा स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । बाँकेमा सात जना चिकित्सक, २० नर्स र १४ कर्मचारीसहित ४३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै, कपिलवस्तुमा तीन जना चिकित्सक, चार जना नर्स र २९ कर्मचारीसहित ३६ जनामा कोरोना पुष्टि भएको छ ।
त्यसबाहेक नवलपरासीमा नौ, अर्घाखाँचीमा तीन, गुल्मीमा एक, दाङमा २८, बर्दियामा आठ र प्युठानमा नौ जना चिकित्सक र कर्मचारी संक्रमित भएका छन् ।
संक्रमित निजी र सरकारी अस्पतालका चिकित्सक एवं कर्मचारी हुन् । चिकित्सकमा नै संक्रमण देखिए पनि प्रदेशका कुनै पनि अस्पतालले सेवा नरोकिएको सूचना अधिकारी पौडेलले बताए । कोरोना देखिएकालाई सेल्फ आइसोलेसनमा बस्न लगाएर र अस्पताललाई सेनिटराइज गराएर सेवा जारी राखिएको उनको भनाइ छ ।
प्रदेश ५ मा लकडाउनको पालनासँगै दैनिक सुरक्षामा खटिने ३ सय बढी सुरक्षाकर्मी पनि कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार नेपाल पुलिस, नेपाली सेना र सशस्त्र प्रहरी बल गरी तीनवटा सुरक्षा अंगका ३ सय १ जनामा कोरोना संक्रमण भएको छ ।
नेपाल प्रहरीका १ सय ६४ जना, सेनाका १ सय १४ जना र सशस्त्र प्रहरीका २३ जना गरी ३ सय १ जनामा कोरोना संक्रमण भएको सूचना अधिकारी पौडेलले बताए ।
प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी संक्रमित बाँकेमा छन् । त्यहाँ ७५ जना प्रहरी, ३० जना सेना र १५ जना सशस्त्र गरी १ सय २० जनामा कोरोना संक्रमित छन् । त्यस्तै, दाङमा २ प्रहरी, ५८ सेनासहित ६० जना, कपिलवस्तुमा ४९ प्रहरी र ७ जना सशस्त्रसहित ५६ जनामा कोरोना संक्रमण भएको छ ।
यसैगरी, नवलपरासीमा दुई प्रहरी र एक सशस्त्र प्रहरी गरी तीन जना, रूपन्देहीमा २१ प्रहरी, पाल्पामा दुई सेना, प्युठानमा ६ प्रहरी र २३ सेना गरी २९ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै, प्रदेशमा १ सय १५ जना सरकारी कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।