काठमाडौं । नेपाल प्रहरीका १४ सय कोरोना संक्रमितले कोरोना बीमा वापतको सेवा नपाउने भएका छन् ।
अहिलेसम्म नेपाल प्रहरीमा २५ सयभन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये १४ सयले कोरोना बीमा सुविधा नपाउने भएका हुन् । भदौ १२ गतेपछिका कोरोना संक्रमितले मात्र बीमा सुविधा पाउने भएका छन् ।
नेपाल प्रहरीले साउन २९ गते राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा बीमा गराएको थियो । नेपाल प्रहरीमा कार्यरत ६७ हजार ४५७ जनाको बीमा गराएको थियो । सो बीमा भदौ ११ गते १५ दिनपछि परिपक्व भएको र भदौ १२ पछि मात्र कोरोना संक्रमित भएकाहरुले सेवा पाउने भएपछि त्यसअघि संक्रमित १४ सय बढी प्रहरी सेवाबाट बञ्चित भएका हुन् ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले बीमा गरेको १५ दिनपछि मात्र सेवा पाउने नियम भएकाले त्यस्तो भएको बताए ।
सुरक्षाका लागि फ्रन्टलाइनमा खटिएका प्रहरीहरुले बीमावापतकै सेवा नेपाउने भएपछि निरास भएका छन् । संक्रमणपछि निको भएर फिल्डमा खटिएका एक प्रहरी अधिकृतले नागरिकखबरसित भने, ‘यस्तो महामारीमा खटियो, भत्ता पनि पाएको छैन, बीमावापतको क्लेम पनि गर्न नमिल्ने रे ।’
नेपाल प्रहरीका उच्च अधिकारी भने महामारीका बेला खटिएका प्रहरीले बीमावापतको रकम नपाउँदा निरास हुने स्थितिमा नेपाल सरकारले केही व्यवस्था गर्ने अपेक्षा गर्छन् ।
नेपाल प्रहरीको मानवस्रोत एवं प्रशासन विभागको बजेट शाखाले भदौ ११ गते सम्वन्धित शाखा तथा हेल्पडेस्कहरुमा पत्राचार गर्दै भदौ १२ पछि संक्रमितहरुलाई बीमा दावी गर्नका लागि भनेको छ ।