हुम्ला । जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयको नियमनकारी निकाय हो, जिल्ला प्रशासन कार्यालय । तर आफै दरबन्दीअनुसारका कर्मचारी नभएपछि अहिले जिल्ला प्रशासन कार्यालय हुम्लाबाट प्रवाह हुने काम प्रभावित हुँदैं गएका छन् ।
दरबन्दी अनुसारका कर्मचारी अभावले प्रमुख जिल्ला अधिकारी (सिडियो) कार्यालयका सामान्य काममै अल्मलिएपछि शान्ति सुरक्षा लगायतका महत्वपूूर्ण काम प्रभावित भएका छन् ।
कार्यालयमा सह–सचिव स्तरको सिडिओ, अधिकृत स्तरको सहायक सिडिओ, तीन जना सुब्बा, ४ जना खरिदारको दरबन्दी मध्ये पुरा कर्मचारी नभएपछि नियमित काम प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले जानकारी दिए । ती कर्मचरीका अनुसार सिडिओ, सहायक सिडिओ, एक जना सुब्बा, एक जना कम्प्युटर अपरेटर एक जना लेखापाल र ७ जना कार्यालय सहयोगीले धानेका छन् ।
“जिल्लाकै नियमनकारी कार्यालयका रुपमा रहेको प्रशासनमै कर्मचारी अभाव भएपछि एकैजनाले दुई तिन फाँट धाँन्नुपर्ने बाध्यता छ,” सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले नेपालबोटसँग भने, “दरबन्दी अनुसारका कर्मचारी नहुँदा कार्यालयका अधिकांश फाँट बन्द हुने अवस्था छन् ।”
एक जना सुब्बा एक जना लेखापाल,एक जना कम्प्युटर अपरेटर र ७ जना कार्यालय सहयोगी भरमा कार्यालय सञ्चालन रहेको सहायक प्रमुख जिल्ला अधिकारी हमालले बताए । नागरिकता तोक लगाउने राहदानी सिफारिस गर्ने, प्रतिलीपि बनाउने लगायतका कामका लागि समस्या हुने गरेको छ ।
बोर्डमै सिमित ईलाका प्रशासन कार्यालय
हुम्लाको सर्केगार्ड गाउँपालिकामा ईलाका प्रशासन कार्यालयको बोर्ड टाँसिएको तीन वर्ष बितेको छ । ईलाका प्रशासन कार्यालय सर्केगार्ड भनेर बोर्ड मात्रै टाँगिएको भएता पनि काम सञ्चालनमा आउन सकिरहेको छैन । तर ईलाकाबाट हुने सेवा सुविधा यहाँका स्थानीय अहिले सम्म नलिएको बताउने गरेका छन ।
कानूनतः इलाका प्रशासन कार्यालयबाट नेपाली नागरिकता र राहदानीको सिफारिस पाउनु पर्ने भएपनि सर्केघाड इलाका प्रशासन कार्यालयबाट नागरिकले उक्त सेवा लिन पाएका छैनन । नागरिकता र राहदानीको सिफारिस लिन सदरमुकाम सिमकोट पुग्नै पर्ने बाध्यता भएको स्थानीयले दुःखेसो गरेका छन् ।
एक निर्वाचन क्षेत्रमा कम्तीमा एक इलाका प्रशासन कार्यालय राख्ने कानूनी व्यवस्था अनुसार सर्केगाड गाउँपालिकाको सर्केघाडमा ईलाका प्रशासन कार्यालय स्थापना भएको तीन वर्ष पुग्यो । तर कर्मचारी अभावले सेवा सूचारु नभएपछि त्यस क्षेत्रका सर्केघाड, चंखेली, अदानचुली र ताँजकोट गाउँपालिकाका नागरिकलाई जिल्ला सदरमुकाम सिमकोट पुग्नै पर्ने बाध्यता छ । कार्यालयमा भएका कार्यालय सहयोगीले पनि मन लागेको दिन मात्रै कार्यालय खोल्ने गरेकाले पनि इलाका प्शासन कार्यालय बोर्डमै सिमित छ ।
जिल्लाको मध्ये र तल्लो क्षेत्रका चार गाउँपालिकाका नागरिकलेउक्त इलाका प्शासन कार्यालयबाट सेवा नपाएपछि अहिले दुई देखि ४ दिनको पैदल हिडेर सेवा लिन सिमकोट धाउने गरेका छन् ।