काठमाडौं । झण्डै ६ महिनापछि नेपालमा आन्तरिक उडान सुरु भएको छ । सोमबार बिहानदेखि आन्तरिक उडान सुरु भएको त्रिभूवन विमानस्थलले जनाएको छ ।
गएको चैत ११ गतेदेखि लकडाउन लागु भएसँगै नियमित उडान रोकिएको थियो । तर सरकारको निर्णयपछि सोमबार बिहानदेखि उडान सुरु भएको हो ।
सोमबार बिहान नियमित उडान तर्फ सबैभन्दा पहिले सात बजेर ४३ मिनेटमा १६ जना यात्रु लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौँबाट भोजपुरका लागि उडेको विमानस्थलले जनाएको छ। यस्तै चार्टर्ड उडान तर्फ ९ जना यात्रु लिएर समिट एयरको विमान काठमाडौँबाट लुक्लाका लागि उडेको हो ।
सरकारले आधा सिट क्षमतामा मात्रै विमान चलाउन भनेको थियो। एयरलायन्सहरुले त्यसको विरोध गरेका थिए । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घुमाउरो पाराले पूर्ण सिट क्षमतामा विमान चलाउन स्वीकृति दिएको दाबी गरिन्छ ।
यसअघि अशोज १ गतेदेखि लामो तथा मध्यम दूरीका सवारी साधान भने आधा सिट क्षमतामा तोकिएको भन्दा ५० प्रतिशत बढी भाडा लिएर सञ्चालन भएको छ ।
हाललाई सामान्य अवस्थामा दैनिक रूपमा हुँदै आएका उडानको २५ प्रतिशत मात्र विमान सञ्चालनको अनुमति दिइएको छ । हाललाई सामान्य अवस्थामा दैनिक रूपमा हुँदै आएका उडानको २५ प्रतिशत मात्र विमान सञ्चालनको अनुमति दिइएको छ ।
छ महिनादेखि बन्द रहेको नेपालको नियमित आन्तरिक उडान सोमवारबाट सुरु गर्दा विशेष अवस्थाको स्वास्थ्य मापदण्ड तयार पारिएको उड्डयन अधिकारी एवं वायुसेवा सञ्चालकहरूले बताएका छन् ।
स्वास्थ्यका सबै मापदण्ड कडाइका साथ पालना होस् भनेर सामान्य अवस्थामा दैनिक रूपमा हुँदै आएका उडानको २५ प्रतिशत मात्र विमान सञ्चालनमा आउनेगरी अनुमति दिइएको नेपाल नागरिक उड्यन प्राधिकरणका अधिकारीहरुको भनाई छ ।
यसअघि असोज १ गतेबाटै आन्तरिक उडान सुरु गर्ने भनिए पनि सरकार र वायुसेवा सञ्चालकहरूबिच पहिले भनिएको आधा मात्र यात्रु बोक्ने बिषयमा कुरा नमिल्दा उडान हुन सकेको थिएन् ।
यस्तो छ मापदण्ड
नेपाल वायुसेवा सञ्चालक सङ्घका महासचिव मनोज कार्कीका अनुसार आफूहरूले पूर्ण क्षमतामा समेत यात्रुहरू सुरक्षित रूपले उडाउन सक्ने गरि तयारी गरेको कुरा सरकारलाई आश्वस्त पारेपछि अवस्था फेरिएको हो ।
“विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओले बनाएका मापदण्ड अनुसार उडान अघि, उडानभर र उडानपछि हुनुपर्ने कामका रूपरेखामा कर्मचारीहरूलाई तालिम दिइसकेका छौँ।” कार्कीले भने । तर अब विमानस्थलमा एकपटकमा बढीमा ३ वटा उडानका यात्रुहरुलाई मात्र लैजाने गरी प्रवन्ध मिलाइएको बताइएको छ ।
त्यसले यात्रुहरू उडानमा जानुअघि बस्ने ठाँउमा पनि विगतको भन्दा दुरी कायम गर्न सघाउने अधिकारीहरूको भनाइ छ । वायुसेवा सञ्चालक सङ्का महासचिव कार्की भन्छन् “आइकाओको मापदण्डमा जोखिम श्रेणीका उडानलाई जसरी हेरिएको छ त्यसको तुलना गर्दा नेपालका लगभग उडान एकघण्टा भित्रकै भएकाले उडानकाबिच सङ्क्रमणको जोखिम कम देखिन्छ ।”
यस्ता छन्, नयाँ प्रावधानहरू
- विमानस्थलमा प्रवेश गर्न यात्रुहरुले मास्क र सर्जिकल पञ्जा अनिवार्य लगाएको हुनुपर्ने र ती उडान अवधिभर पनि कायम हुनुपर्ने
- विमानस्थलका कर्मचारी र यात्रुबिच सिधा सम्पर्क नहुनेगरी काउन्टरहरूको तय हुनुपर्ने
- विमानस्थलमा जहाजसम्म लैजाने गाडीमा भिडभाड नहुनेगरी प्रबन्ध हुनुपर्ने
- अत्यावश्यक नपरिकन ७० वर्ष माथिका व्यक्तिहरूलाई विमानमा यात्रा नगर्न आग्रह
- विमानभित्र हुने पेयरखाजा जस्ता खानपानका सेवामा हाललाई रोक
- विमानभित्र शौचालय प्रयोग नगर्न आग्रह
- आवश्यक विवरण रेकर्डका लागि आफ्नै कलमको प्रयोग गर्नुपर्ने
- यात्रुले पहिलेजस्तो ह्याण्डलगेज बोक्न नपाउने