काठमाडौँ । लगातारको झरीका कारण देशका विभिन्न नदीमा पानीको बहाव खतराको तह भन्दा माथि गएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउ नदीमा पानीको बहाव खतराको तह भन्दा माथि र नारायणी नदीमा पानीको सतह सतर्कता तह भन्दा माथि पुगेको छ ।
बुटवलको तिनाउ नदीमा बाढी आएकाले नदीको तटीय क्षेत्र र आसपासका क्षेत्र डुबानमा पर्न सक्ने महाशाखाले जनाएको छ । दिउँसोसम्म सो क्षेत्रका होचो स्थानका बासिन्दाले उच्च सतर्कता अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस्तै नारायणी नदीमा पनि बाढी आएको छ । देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह भन्दा माथि गएको र बढ्दो क्रममा रहेकाले खतराको तह नजिक पुग्ने जनाइएको छ ।
चितवन र नवलपरासीका तटीय क्षेत्रका बासिन्दालार्य दिनभर नै उच्च सतर्कक अवस्थामा रहन मौसम विभागले आग्रह गरेको छ ।
यस्तै लगातारको वर्षाका कारण देश विभिन्न क्षेत्रमा पहिरोको जोखिम पनि बढेकाले सतर्क बन्न मौसमविद तथा पहिरो विज्ञले आग्रह गरेका छन् ।
सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहूँ, कास्की, बागलुङ्ग, पर्वत, म्याग्दी, रुकुम हुँदै बग्ने साना नदीमा आकश्मिक रुपमा बहाव बढ्न सक्ने जनाइएको छ । यस्तै आसपासका क्षेत्रमा परिो पनि जान सक्ने भएकाले सतर्क रहन मौसम विभागले आग्रह गरेको छ ।