सिमकोट । चीन र नेपाल बीचको सिमाना एकिन गर्न नेपाल सरकारलाई प्राविधिक सहितको विज्ञ टोली पठाउन हुम्लाका राजनीतिक दलहरुले आग्रह गरेका छन् ।
पछिल्लो केही महिनायता चीन सरकारले नाम्खा गाउँपालिका ६ को लाप्चा क्षेत्रमा ९ वटा नयाँ भवन निर्माण भएको भूमि नेपालको भएका विषयमा अनेक प्रकार समाचार प्रकाशमा आएपछि जिल्लाका राजनीतिक दलहरुले यस्तो आग्रह गरेका छन् ।
“सिमाना विवादका विषयमा बाहिर आएका कुरालाई वैज्ञानीक ढंगले एकिन गर्न नेपाल सरकारलाई जिल्लका सबै राजनीतिक दलहरुको तर्फबाट आग्रह गर्ने निर्णय भयो,” नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य बिजय भण्डारी प्रतिरोधले भने, “कहिले नेपाली सिमानामा चीनले भवन बनाएको भन्ने, कहिले सिमानामा राखिएका पिल्लर हरायो भन्ने विषय आइरनु भन्दा सरकारले विज्ञ र प्राविधिक टोली पठाएको खण्डमा सँधैका लागि एकिन होला भन्ने ध्येयले हामीले यस्तो आग्रह गर्ने निचोडमा पुगेका हौं ।”
सिमा क्षेत्रको अध्ययन गर्न गएको प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको जिल्लाका सुरक्षा अधिकारीको टोलीलेसमेत एकिन खबर नल्याएकोले सिमानाको वास्तविक अवस्था पत्ता लगाउन जिल्लाका राजनीतिक दलहरुले सरकारलाई विज्ञ टोली पठाउन आग्रह गरेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशसभाका प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले बताए । “भोगचलनको आधारमा लोलुङजोङमा चीनले निर्माण गरेको भवन निर्माण गरेको भू–भाग नेपालकै जस्तो देखिन्छ,” शाहीले थपे, “नेपाल र चीन सरकारले संयुत्तः रुपमा सन १९८२ मा सार्वजनिक गरेको नक्साका आधारमा उक्त क्षेत्र चीनकै हो भन्ने देखिन्छ, यस्तो दाुविधालाई सरकारी तवरबाटै नागरिकमा परेको भ्रम चिर्नका लागि भएपनि सरकारले विज्ञ टोली सिमा क्षेत्रमा पठाएर वास्तविकता बाहिर ल्याउनु पर्छ ।”
सिमकोटमा आयोजना गरिएको सर्वदलिय बैठकले सरकारलाई दलिय र सरकारी संरचनागत रुपमा पनि प्रविधिकसहितको विज्ञ टोली पठाउने निर्णय निष्कर्ष निकालेको छ । २०५८ सालदेखि तत्कालिन लिमि गाविसले आप्mनो गाउँआफै बनाउँ कार्यक्रमको एक लाख रकम खर्च गरेर लोलुङजोङभन्दा साढे २ किलोमिटर उत्तरबाट बाटो निर्माण गरेको उल्लेख गरेका पुर्व जिल्ला विकास समिति सभापति बिरजङ्ग शाहीले नेपाली भूभाग नभएको भए चीनले त्यसरी आप्mनो भूभागमा बाटो निर्माण गर्न नदिने भएकाले पनि उक्त भूभाग नेपालकै हुनुपर्ने दावी गरे ।
नाम्खाका स्थानीय नागरिकले गरेको प्रयोगका आधारमा उक्त भूमी नेपाली क्षेत्रमै हुने भएपनि नक्साका आधारमा चीनको देखिएको उल्लेख गरेका प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामाले सिमा एकिन गर्न प्राविधिक सहितको विज्ञ टोलीलाई पठाउन सरकारसँग आफूले पनि आग्रह गर्ने काम गरेको जानकारी दिए ।
सिमाना विवदा आएको नाम्खा गाउँपालिका ६ को वडा, नाम्खा गाउँपालिका र जिल्ला समन्वय समिति हुम्लामार्फत जिल्लाकै तर्फबाट सरकारलाई आधिकारी रुपमा विज्ञ टोली पठाउन आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।
जिल्ला सुरक्षा अधिकारीहरुको टोलीले स्थलगत अवस्थाको बारेमा जिल्लामा कुनै जानकारी नदिएपछि जिल्लाका राजनीतिक दलहरु आफैले यस्तो पहल चालेका हुन् ।