काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज खुद्रा एजेण्डामा केन्द्रित भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हिजो खाली ठाउँमा तीनजना मन्त्री थप्ने विषयमा छलफल भएपछि आजका लागि सचिवालय बैठक बोलाइएको थियो ।
सचिवालयका एक सदस्यका अनुसार बैठकमा आज मन्त्रिमण्डल पुनर्गठनका विषयमा एक शब्द पनि उच्चारण भएन । ती सदस्यले भने, ‘उहाँहरुले गोप्य सहमति गर्नु भएको थियो । तीनजना थप्ने भन्ने कुरा भएको हिजो सुनिएको थियो । तर, आजसम्म तीन जनामध्येका एकजना सुरेन्द्र पाण्डेले जान्न भनेपछि त्यो विषय बाटोमै हरायो । पहिलेका एजेण्डामा पनि छलफल भएन ।’
प्रधानमन्त्री ओलीले अर्थ, सञ्चार र सहरी विकास मन्त्रालयमा तीनजनाको नाम प्रस्ताव गर्ने तयारी गरेका थिए । सहरी विकास मन्त्री बन्ने प्रस्ताव पाण्डेले अस्वीकार गरेपछि ओलीले अन्य दुईजनाको नाम पनि बैठकमा प्रस्ताव गरेनन् । आफू पार्टी काममा खटिने बताए पनि महासचिव विष्णु पौडेललाई ओलीले अर्थमन्त्री बन्न आग्रह गरेका छन् ।
जनार्दन शर्मालाई सञ्चारमन्त्री बनाउने प्रस्ताव गरेका ओली उनलाई मन्त्री बनाउने प्रस्तावबाट एकाएकपछि हटेका उनी निकट एक नेताले बताए । उनले भने, ‘भौजाहा व्यवहारका जनार्दनलाई सञ्चारमा ल्याउन प्रधानमन्त्रीज्यूले चाहनु भएन । अब उहाँले ताकेको गृहको सम्भावना पनि छैन । उहाँ मन्त्री बन्ने कुरा अब कमजोर बन्न थालेको छ ।’
आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनमा अहिलेसम्म भएका छलफलका विषयमासमेत अध्यक्षद्वयले बैठकलाई जानकारी गराएनन् । बरु संवैधानिक तथा राजनीतिक नियुक्तिका विषयमा प्रधानमन्त्री ओलीको आलोचना भएको छ । अन्तिमतिरको छलफल स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै अनसनरत डा।गोविन्द केसीको जीवन रक्षा कसरी गर्ने रु भन्ने विषयमा लामो छलफल भएको छ ।
संवैधानिक तथा राजनीतिक नियुक्तिमा के भयो ?
आजको बैठकमा प्रधानमन्त्री ओलीको आलोचना पनि भएको छ । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले छलफल नगरेर राजदूत नियुक्ति गरेर पार्टी एकताविरुद्धको काम गरेको भन्दै सुरुमै ओलीको आलोचना गरेका थिए । प्रचण्डले भर्खरै पार्टी विभाजनको मुखबाट फर्किएको स्मरण गर्दै संस्थागत ढंगले सरकार र पार्टी चल्नुपर्नेमा जोड दिएका थिए ।
बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले राजदूत नियुक्तिको प्रक्रियामा आपत्ति जनाएका थिए । पार्टी र सरकार संस्थागत ढंगले चल्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै उनीहरुले नेतृत्वको अहिलेकै कार्यशैलीले पार्टी जनताबाट टाढिदै गएको टिप्पणी गरेका एक सचिवालय सदस्यले जानकारी दिए ।