काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा आराधना गरिंदैछ ।
बडादशैं अन्तरगत आज देवी दुर्गाका स्वरुपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा आराधना गर्न लागिएको हो ।
घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने धार्मिक परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
कोरोना संक्रमण जोखिमका कारण मन्दिरहरु नखोल्ने सरकारी निर्देशन अनुसार अघिल्ला बर्षहरुमा जस्तो सार्वजनिक पुजा नभए पनि नियमित पुजा भने गरिनेछ ।
दशैंको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा ब्रम्हचारिणी भगवतीको पूजा गरिंदैछ ।
काठमाडौको गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभाभगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा नियमित पुजासंगै ब्रम्हचारिणी भगवतीको पूजा गरिंदैछ ।