काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर बढेसँगै मृत्युदर पनि बढिरहेको छ । कोरोनाको कारण देशभरमा मृत्यु हुनेको संख्या दैनिक २० जनाको हाराहारीमा रहेको छ ।
मृत्युदर बढेसँगै होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुको पनि मृत्यु हुने संख्या बढ्न थालेको छ । सरकारले स्वास्थ्य मापदण्ड पालना गरेर होम आइसोलेसनमा बस्ने व्यवस्था गरेसँगै होम आइसोलेसनमा बस्नेको संख्या बढिरहेको छ ।
कोरोना संक्रमितलाई अस्पतालमा उपचार गर्ने भएपनि होम आइसोलेसनमा रहेका मानिसहरु घरमा मृत्यु हुन थालेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरको कोरोना फोकल पर्सन उपेन्द्र पौडेलले जानकारी दिए । उनले ललितपुरमा होम आइसोलेसनमा रहेकाहरुको मृत्यु बढ्न थालेको बताए ।
कोरोनाको कारण मृत्यु हुनेको संख्या बढ्न थालेसँगै अहिले शव व्यवस्थापनमा समस्या हुन थालेको उनले बताए । शव व्यवस्थापनमा आवश्यक पर्ने शव वाहन तथा आर्यघाटमा लाइन बस्न पर्ने कारण अहिले शव व्यवस्थापनमा समस्या रहेको उनले बताए ।
पशुपति आर्यघाटमा कोरोनाबाट मृत्यु भएकाहरुलाई विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने गरिन्छ । तर, अहिले पशुपतिमा विद्युतीय शवदाह गृह दुईवटा मात्र रहेको छ । त्यस कारण शवदाह गर्नको लागि लाइन बस्नुपर्ने हुन्छ ।
होम आइसोलेसनमा रहेर मृत्यु हुनेहरुका आफन्तले शव छिटो व्यवस्थापन गरिदियोस् भन्ने चाहना राख्ने गरेको उनले बताए । नेपाली सेना तथा जिल्ला स्वास्थ्यको टिम व्यवस्थापनमा निरन्तर लागेपनि शव वाहन तथा घाटमा लाइन बस्नुपर्ने अवस्थाको कारण समस्या भइरहेको उनले बताए ।
पौडेलकाअनुसार हिजो मात्र ललितपुरमा ३ जना होम आइसोलेसनमा रहेका संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका तथा संक्रमणको शंका लागेर मृत्यु भएकालाई विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने भनिएपनि अहिले कोरोना पुष्टि भएकालाई मात्र विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने गरिएको छ ।
संक्रमणको शंका लागेकालाई र कोरोना नलागेकालाई अहिले घाट व्यवस्थापनले परम्परागत रुपमा दाउराले जलाउने ठाउँको घाटबाट अन्त्येष्टि गर्दै आएको छ । जसले गर्दा पछिल्लो समय आर्यघाट कोरोना संक्रमण फैलने नयाँ ठाउँको रुपमा विकसित हुँदै गएको छ ।
अहिले देशभर संक्रमितहरु धेरै मात्रामा होम आइसोलेसनमा रहेका छन् । सरकारले गम्भीर प्रकृतिको समस्या नभए अस्पताल नआउन र घरमै बसेर उपचार गर्न भनिरहेको छ ।