मुगु । हिमाली जिल्ला मुगुमा आईतवारबाट सुपथ मूल्यका पसल संचालनमा आएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले नेपालीहरूका महान पर्व दशैँ, तिहार नजिकिँदै गर्दा मुगुमा चाडपर्वलाई लक्षित गरी सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको हो ।
दशैँको मुखमा यहाँका उपभोक्ताले निजी पसलहरूमा चर्को मूल्य हालेर खाद्यान्न उपभोग गर्न बाध्य रहेका थिए, त्यस समस्यालाई मध्यनजर गरेर कम्पनीले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड मुगुले जनाएको छ ।
कम्पनिका अनुसार थोरै मूल्य कम गर्दा यहाँका ज्याला मजदुरी गरी खाने, अतिविपन्न नागरिकलाई केही राहत होस भनि सुपथ मुल्यको पसल सञ्चालनमा ल्याएको कार्यालय प्रमुख कर्णबहादुर रावलले जानाकारी दिए ।
सहुलियत पसल सञ्चालनका लागि २०० क्विन्टल खाद्यान्न स्वीकृत भएकाले एक सय क्विन्टल दशैँ र एक क्विन्टल तिहारका लागि बिक्री वितरण गरिने छ, उनले भने, अहिले सहुलियत पसलमा २ प्रकारका मोटा र मकवानपुर नामक चामल विक्रि गरि रहेको छ ।
पहिला १४ सय ४० मुल्य पर्ने मोटा चामल सहुलियतमा १ हजार २ सय ९० मा विक्रि गरिरहेको छ भने त्यस्तै मकवानपुर चामल पहिला १४ सय ६० मुल्य पर्ने सहुलियतमा १ हजार ३ सय २० मा बिक्रि गरिरहेको उनले बताए । सहुलियत मुल्य पसलसको चामल छायानाथ रारा नगरपालिका वडा नं ४ का स्थानीय पृथ्वी बहादुर मल्ल बाट सुभारम्भ गरि विक्रि गरिएको थियो । चामल ३० केजिको रहेको छ ।
जिल्लामा रहेका खाद्य डिपो र बिक्री केन्द्रहरूमा खाद्यान्न रित्तिँदै गएपछि सदरमुकाम गमगढी बजारमा पसल संचालन गरिने भएको हो ।
जिल्लामा रहेका डिपोहरूमा खाद्यान्न रित्तिएपछि स्थानीयवासीहरू मर्कामा परेका छन् । दशैँ, तिहार तथा छठ पर्वको उपलक्ष्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुले आईतवार अर्थात २ गते देखि कार्तिक ६ गते सम्म सुपथ मूल्य पसल संचालन गर्नेछ ।