काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फोनमै बाझाबाझ् भएको छ । पार्टीको कर्णाली प्रदेशको विवादका विषयमा ओली प्रचण्डको सचिवालयले छुट्टा छुट्टै प्रेस नोट जारी गरेपछि फोन वार्ता भएको थियो ।
ओलीले दुबैतर्फको प्रेस नोटका विषयमा जिज्ञासा राख्दै प्रचण्डलाई फोन गरेका थिए । फोन गरेपछि दुबैजनाबीच बाझाबाझ् भएको स्रोतको भनाइ छ । त्यसपछि भने दुबै अध्यक्षबीच फोन वार्ता पनि हुन सकेको छैन ।
सुरुमा ओलीले भने, ‘तपाईँले बिहान भएको सहमति खण्डन गर्न लगाउनु भएछ । किन त्यस्तो गर्नु भएको ?’
प्रचण्डले भने, ‘सहमति कहाँ भएको थियो ? तपाईँले एकतर्फी सहमति भन्दै किन सार्वजनिक गरेको ?’
ओलीले भने, ‘मैले तपाईँलाई भनेको थिए त, यो यो गरौँ भनेर ।’
प्रचण्डले भने, ‘तपाईँले भन्दैमा सहमति हुन्छ ? मैले पनि त्यहीँको पार्टी कमिटी र सरकारलाई जिम्मेवारी दिने कुरा गरेको थिएँ त ।’
ओलीले भने, ‘यस्तो तरिकाले कसरी हुन्छ ? यो राम्रो भएन ।’
प्रचण्डले फेरि भने, ‘यो तरिकाले हुँदैन । विधि, प्रक्रिया सबै कुरा नमान्ने ? यो तरिकाले हुँदैन ।’
ओलीले भने, ‘अब तपाईँसँग बस्नुको अर्थ छैन ।’
प्रचण्डले भने, ‘त्यहीँ हो, तपाईँसँग जति बसेपनि तपाईँको उद्देश्य नै राम्रो छैन ।’
ओलीले भने, ‘अब नबसौँ । तपाईँ र म अब भेटवार्ता पनि नगरौँ ।’
प्रचण्डले भने, ‘कुनै अर्थ नै छैन । तपाईँको तरिकाले जनताबाट पार्टी टाढा भइसक्यो । नबसौँ ।’
प्रचण्डले आफ्नो बोली पूरा गर्न नपाउँदै ओलीले फोन काटे । त्यसपछि बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा हुने भनेको अध्यक्षद्वयको भेटवार्ता पनि हुन सकेन । कर्णाली प्रदेशको विवादले पार्टीका अध्यक्षद्वयबीच बोलचाल पनि बन्द भएको छ ।