काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सा घटनामा दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले आनाकानी गरेको आरोप लगाएका छन्।
यहि कार्तिक ६ मा पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको सपथ ग्रहण कार्यक्रममा भएको झडपमा जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु भएको घटनामा सरकारले प्रभावकारी भूमिका नखेलेको आरोप प्रचण्डले लगाएका छन् । घटनालाई लिएर आक्रमण गर्नेमाथि मुद्दा चलाउन ढिला भएको भन्दै प्रचण्डले स्थानीय प्रशासनको भूमिकामाथि गंभीर प्रश्न उठाएका छन् ।
विज्ञप्तिमार्फत अध्यक्ष प्रचण्डले भनेका छन्, हत्या जस्तो जघन्य अपराध हुँदासमेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ । केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु ।’
प्रचण्डले पार्टी जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट हत्याको भत्र्सना गर्दै चौरसियालाई सहिद घोषणा गर्न तथा हत्यारालाई कडा कारवाही गर्न माग गर्दै वक्तव्य जारी गरेको र कार्यकारी अध्यक्षको हैसियतले उक्त वक्तव्यको समर्थन गरेको पनि जनाएका छन् ।
यस अघि वरिष्ठ नेता माधवकुमार नेपालले पनि दोषीमाथि कारवाहीको माग गरेका थिए । नेकपा अध्यक्ष केपी ओलीपक्षका कार्यकर्ताको आक्रमणमा आफ्नो समूहका नेता मारिएको प्रचण्ड नेपालपक्षको दाबी छ ।
झडपमा परेर मृत्यु भएका चौरसियाको घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग गर्दै शनिबार प्रदर्शन भएको थियो ।
जिल्ला प्रहरी कार्यालयअगाडि नेकपा पर्साका नेता तथा कार्यकर्ताले घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग राख्दै प्रदर्शन गरेका थिए । प्रदर्शनमा सम्बोधन गर्दै नेकपाका नेता मातृका यादवले दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी रहने बताएका थिए।