काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एकहप्तादेखि फोन संवादसमेत बन्द भएको छ । अघिल्लो मंगलबार अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो । मंगलबार बेलुकी ओलीको सचिवालयबाट कर्णाली प्रकरणमा एकतर्फी प्रेस नोट आएपछि त्यसको खण्डनमा प्रचण्डको सचिवालयबाट ‘काउन्टर प्रेस नोट’ जारी भएको थियो ।
प्रेस नोटबारेमा अध्यक्षद्वयबीच मंगलबार राति फोनमा भनाभन भएपछि फोन संवाद र भेटवार्ता हुन सकेको छैन । योबीचमा महासचिव विष्णु पौडेलले सन्देश आदान प्रदान गरे पनि अध्यक्षद्वयबीच संवादसमेत हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ । पार्टीभित्रको विवाद फेरि एक पटक ‘फाइट टू फिनिस’तर्फ गएपछि महासचिव पौडेलको दौडधुप चलिरहेको छ ।
महासचिव पौडेलले आज बिहान अध्यक्षद्वय ओली प्रचण्डलाई छुट्टाछुट्छै भेटेर पार्टीको केन्द्रीय कमिटी बैठक र संवादहीनताको अन्त्यका लागि पहल गरेका छन् ।
केन्द्रीय कमिटी बैठक कम्तिमा एक महिना सर्ने
नेकपा स्थायी कमिटीको भदौ २६ गते सम्पन्न बैठकले राष्ट्रिय महाधिवेशनको तयारी स्वरुप कात्तिक १५ देखि १७ गतेसम्म काठमाडौंमा तय भएको बैठक निर्धारित समयमा नबस्ने भएको छ । आज अध्यक्षद्वयसँग छलफलका क्रममा कम्तिमा एक महिनापछि बैठक बोलाउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।
स्रोतका अनुसार पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले छठ लगत्तै बैठक राख्नुपर्ने बताएका छन् भने प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी बैठक सकभर पछि धकेल्ने प्रयास गरेका छन् । केन्द्रीय कमिटी बैठक बस्न तीनदिन बाँकी रहँदा पनि अध्यक्षद्वय बैठक के गर्ने भन्ने निर्णयमा पुग्न सकेका छैनन् ।
पछिल्लो सहमतिपछि प्रधानमन्त्री ओलीले आफूखुसी राजदूत नियुक्ति गरेको, मन्त्रिपरिषद् हेरफेर र बिस्तार गरेको तथा भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग कुटनीतिक मर्यादाविपरित भेटवार्ता गरेपछि विवाद बढेको छ । कर्णालीमा अध्यक्षद्वयले छुट्टाछुट्टै निर्देशन जारी गरेपछि नेकपा विवाद ‘फाइट टू फिनिस’तर्फ गएको छ ।