काठमाडौं । भारत देहरादूतस्थित शाक्य गुम्बाले सञ्चालन गर्दै आएको बोर्डिङ स्कूलबाट घर फर्किन खोज्ने ५१ नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ । कुटपिटमा परेकामध्ये ४२ जना घाइते भएका छन् ।
अभिभावकले घाइते विद्यार्थीलाई सकुशल स्वदेश फिर्ता गराइदिन सरकारसँग माग गरेका छन् । ‘खानेबस्ने राम्रो व्यवस्था नभएपछि बच्चाहरू घर फर्किन निवेदन लिएर प्रिन्सीपल कहाँ पुगेका रहेछन्’ कुटाइ खाने विद्यार्थी निमा शेर्पाका बुबा ग्याल्जेन शेर्पाले शिलापत्रसँग भने, ‘एक्कासी स्कूलका अध्यक्ष लामा आएर कुटपिट गरेछन् । शरीरभरी निलडाम भएको छ ।’
उनका दुई छोरा १७ वर्षीय निमा र १३ वर्षीय सोनाम चार वर्षदेखि त्यहाँ छन् । उनका भाइका दुई छोरा पनि त्यही बसेर पढ्छन । तीमध्ये पस्टेम्पा शेर्पा नराम्ररी बिरामी परे । उनको मानसिक सन्तुलनसमेत बिग्रियो । गुम्बा र स्कूलले उनको उपचार नगरेर घर फर्काइदियो । घर फर्केर उपचारपछि अहिले उनको स्थिति सामान्य बन्दैछ ।
गुम्बाले सञ्चालन गरेको सो शाक्य एकेडमी बोर्डिङ स्कूलमा नेपालका बाग्लुङ, रुकुम, जुम्ला, हुम्ला, सिन्धुपाल्चोक, रामेछापलगायतका जिल्लाबाट ६९ विद्यार्थी अध्ययनरत थिए । ‘आर्थिक स्थिति कमजोर छ । त्यसमाथि भुकम्पले घर भत्कियो । निशुल्क बोर्डिङ स्कूल पढाउने लोभमा छोराहरुलाई देहरादून पठाएँ । अहिले यस्तो भयो’ ग्याल्जेनले भने ।
गुम्बाको सो स्कूलमा राम्रो व्यवहार नभएपछि केही समयअघि मात्र १८ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए । अरू पनि घर फर्किन चाहेपछि गुम्बा व्यवस्थापनले कडाई गरेको थियो । विद्यार्थीलाई घर परिवारसँग सम्पर्क गर्नसमेत दिइएन । काभ्रेका एक शिक्षक त्यहाँ पढाउँछन्, उनको समेत मोबाइल खोसिएको छ ।
काठमाडौंको बौद्धस्थित आनी गुम्बासम्म सो खबर आएपछि विद्यार्थीका अभिभावकले सरकारसँग उद्दारका लागि आग्रह गरेका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगका निवर्तमान सदस्य मोहना अन्सारीले ती विद्यार्थीको उद्दारका लागि आग्रह गर्दै गरेको ट्विटमा नयाँ दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले ‘दूतावासले खोजखबर लिन्छ’ भन्ने प्रतिक्रिया दिएका छन् । त्यस्तै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु भइसकेको जनाएका छन् ।