काठमाडौं। विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन करोड ३७ लाख ४२ हजार ३५९ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७२ प्रतिशत हो।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ६८ लाख चार हजार ३९ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या एक करोड १८ लाख ५६ हजार ६३७ रहेको छ।
नेपालमा आइतबार थप तीन हजार ६२० सहित कूल एक लाख ३४ हजार ८४२ जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल ३७ हजार ७६५ रहेको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा सबैभन्दा बढी ७५ लाख ४२ हजार ९०५ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि पाँच लाख ६३ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।
विश्वमै संक्रमित धेरै हुने देशमध्ये पहिलो स्थानमा रहेको अमेरिकामा आजसम्म ६० लाख ९७ हजार ३२५ जना उपचारपछि कोरोनामुक्त भएका छन्। अमेरिकामा हाल ३१ लाख ३९ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।
यसैगरी ब्राजिलमा निको हुनेको संख्या ४९ लाख ८० हजार ९४२ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या चार लाख चार हजार ६५९ रहेको तथ्यांक छ।
संक्रमित धेरै हुने मुलुकहरू रसियामा १२ लाख २५ हजार ६७३, कोलम्बियामा नौ लाख ७७ हजार ८०४, पेरूमा आठ लाख २७ हजार ६१३, अर्जेन्टिनामा नौ लाख ८५ हजार ३१६, दक्षिण अफ्रिकामा ६ लाख ५५ हजार ३३०, मेक्सिकोमा ६ लाख ७७ हजार ६५९, जर्मनीमा तीन लाख ५५ हजार ९०० तथा इटलीमा दुई लाख ९२ हजार ३८० जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।