काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे भोली काठमाडौं आउनुहुने भएको छ ।
भ्रमणका क्रममा नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापतिको दज्र्यानी चिन्ह लगाउनुहुने छ भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुहुने छ ।
कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारतले नक्सा जारी गरेपछि नेपाल–भारतबीच सीमा विवाद उत्कर्षमा छ । त्यसयता दुई मुलुकबीच राजनीतिक र कुटनीतिक तहमा सम्वाद नभइरहेका वेला हुनलागेको नरवणेको भ्रमणलाई चासोका साथ हेरिएको छ । भ्रमणको महत्वपूर्ण कार्यक्रम भने पर्सि बिहीबार राखिएको छ ।
मानार्थ महारथीको दज्र्यानी चिन्ह लगाउने कार्यक्रम शितल निवासले पर्सि राखेको छ । नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलन छ ।
भब्य स्वागत गर्ने नेपालको तयारी
नेपाल भ्रमणमा काठमाडौं आउन लागेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेलाई यहाँ भव्य स्वागतको तयारी भएको छ ।
यसअघि भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्त गोयल नेपाल आएर प्रधानमन्त्री केपी शर्मा अोलीलाई भेटेर गएपछि नरवणेको भ्रमण हुन लागेको हो । त्यसले गर्दा यो भ्रमणलाई विशेष रुपमा लिइएको छ । नेपालको राजनीति अवस्था पनि विशेष परिस्थितिमा रहेको बेला उनको यो भ्रमण हुन लागेको हो । त्यसले गर्दा टिकाटिप्पणी पनि त्यसरी नै हुन थालेको छ ।
सेनाध्यक्ष नरवणेको भ्रमण रोकिनुपर्छ भनि केही दल तथा संगठनहरु माग पनि गरेका छन् । नरवणेको भ्रमण विशेष चर्चामा रहेको हुनाले उनको सुरक्षा अवस्थालाई पनि कडा बनाइएको भारतीय दूतावास स्रोतले जनाएको छ । उनको सुरक्षा अवस्थाको बारेमा सुक्ष्म अध्ययन गरी सुरक्षा रणनीति बनाइरहेको बताइएको छ । उनको सुरक्षा नेपाली सेना र भारतीय सेना दुवैले दिने बताइएको छ ।
उनको सुरक्षाको रणनीति नेपालस्थित भारतीय दूतावासमा रहेका डिफेन्स विंग्सले बनाइरहेको छ । उनको कार्यक्रमको सम्पूर्ण कार्यसूची सोही विङ्ग्सले हेरिरहेको बताइएको छ ।
हालसम्मको प्राप्त सूचना अनुसार तीन दिने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग उनले भेटवार्ता गर्नेछन् । तर स्रोतले भन्छ, यो कार्यसूचीमा हेरफेर पनि हुनसक्छ ।