एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमरिकी राष्ट्रपतीय निर्वाचनमा अवैधानिक भोटहरु गनिएको आरोप लगाउँदै उनले सर्वोच्च अदालतको शरणमा जाने घोषणा गरेका हुन ।
हाल घोषित निर्वाचन परिणामप्रति असन्तुष्टि जनाउंदै हालको परिणाम उल्टाउन सर्बोच्च अदालतमा मुद्धा दायर गर्ने ट्रम्पले बताए ।
ह्वाइट हाउसमा बिहीबार सांझ एक विशेष पत्रकार सम्मेलन गर्दै ट्रम्पले यस्तो घोषणा गरेका हुन् । उनले निर्वाचनको दिनभन्दापछि जम्मा गरेर गणना गरिएका मतहरुलाई अवैधानिक भएको जिकिर गरेका छन् । अमेरिकी निर्वाचन प्रणालीअनुसार, आफ्नो मतपत्र हुलाकमार्फत पनि पठाउन सकिने, देशवाहिरबाट पनि मत दिन सकिने संबैधानिक व्यबस्था छ ।
तर, राष्ट्रपति डोनाल्डले निर्वाचनका दिनवाहेक अरु दिनका मतहरुलाई मान्यता दिन नसकिने जिकिर गरेका हुन । त्यस्तै जितको झण्डै नजिक पुगेका डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो वाइडनले मतगणना जारी रहँदा सबैलाई संयमित हुन आह्वान गरेका छन्। “लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ”, उनले भने, तर “प्रक्रियाले काम गरिरहेको छ।”
प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिंदै उनले भने,“अमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ। हेरौँ मानिसहरूले त्यसलाई कसरी व्यक्त गर्नेछन्।”
मतगणना सकेपछि विजयी हुने कुरामा आफू र उपराष्ट्र पदकी उम्मेदवार कमला ह्यारिसलाई “कुनै शङ्का नरहेको” पनि बाइडनले बताए।
यता पेन्सिलभेनिया राज्यमा मतगणनामा व्यापक धांधली भएको आरोप लगाउँदै डिट्रोएट र अन्य शहरहरुमा पनि मत गणनामा धांधली भएको ट्रम्पले आरोप लगाएका छन । आफ्ना पर्यबेक्षकहरुलाई मत गणनास्थलबाट टाढै राखेर मत गणना गरिएकाले धांधली भएको उनको तर्क छ ।
जर्जियामा पनि चारघण्टा मत गणना रोकेर धांधली गरेको उनले बताए । जर्जियामा प्रतिशतका हिसाबले बराबरी भएपनि मतका आधारमा ट्रम्प अग्रस्थानमा छन् । हुलाकको संकेत नभएका र परिचय नखुलेका मतपत्रहरुसमेत गणना भएको दावी गर्दै यस्तो परिणाम उल्टाउन सर्बोच्च जाने ट्रम्पले बताएका हुन् ।
पछिल्लो गणनाअनुसार, पेन्सिलभेनियामा जम्मा एक प्रतिशतले मात्र डोनाल्ड ट्रम्प अगाडि छन् । तर डेमोक्र्याटहरुको बाहुल्यता भएको क्षेत्रका मत गणना गर्न अझै बांँकी रहेको बिबिसीले जनाएको छ ।